चलचित्र ‘बाटो : रोड टु डेथ’, भोलिदेखि देशभर प्रदर्शन

जेष्ठ ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
चलचित्र ‘बाटो : रोड टु डेथ’, भोलिदेखि देशभर प्रदर्शन

काठमाडौं । नेपाली चलचित्र ‘बाटो : रोड टु डेथ’ भोलि (शुक्रबार) देखि देशभर प्रदर्शन हुने भएको छ ।

चलचित्रको बुधबार साँझ प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटी, शुभचिन्तकलगायतको उपस्थिति थियो ।

नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापा हुनुहुन्छ । उहाँले चलचित्रबाट आफूले प्रशंसा पाउनेमा आशावादी रहेको जनाउनुभयो । ‘नेपाली चलचित्रको स्ट्यान्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । आजकल दर्शक फिल्ममेकर भन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले चलचित्र राम्रो नै बनाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको प्रतिक्रिया दिनुभयो । उहाँले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको दाबी पनि गर्नुभयो । अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि चलचित्र रिलिज हुन लागेकामा खुसी व्यक्त गर्नुभयो । अभिनेत्री रक्षा थापाले यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको जनाउनुभयो । उहाँले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहै नहुने बताउनुभयो । अभिनेत्री मिथिला शर्माले यस चलचित्रमा आफूलाई अभिनयका लागि लिएकामा निर्माता र निर्देशकलाई धन्यवाद दिनुभयो ।

चलचित्र प्राविधिक रूपमा गहन तवरबाट बनेको र कलाकारको काम उत्कृष्ट रहेको दर्शकहरुको प्रतिक्रिया छ ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको चलचित्रका निर्माता चन्दन झा हुनुहुन्छ । यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायांकन गर्नुभएको हो । चलचित्रका लाइन प्रोड्युसरहरू शंकर कार्की, प्रकाश हमाल र दिनेशप्रकाश महरा हुनुहुन्छ । कार्यकारी निर्माता रणधीरकुमार झा, अश्विनी घिमिरे, सदीक्षा महर्जन, नवीन अवाल, आकांक्षा बस्नेत र विशाखाविक्रम थापा हुनुहुन्छ ।

चलचित्रमा मिथिला शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजयआनन्द ताम्राकार, आशान्त शर्मालगायत कलाकारको अभिनय हेर्न सकिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement