जेठ ३२ मा हुने रेडियो कान्तिपुर ‘नेशनल म्युजिक अवार्ड’का लागि शीर्ष ५ मनोनयन सार्वजनिक

जेष्ठ २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जेठ ३२ मा हुने रेडियो कान्तिपुर ‘नेशनल म्युजिक अवार्ड’का लागि शीर्ष ५ मनोनयन सार्वजनिक

काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड ‘नेशनल म्युजिक अवार्ड्स २०८०’ को छैटौँ संस्करण यही जेठ ३२ मा आयोजना हुने भएको छ । 

रेडियो कान्तिपुरको वार्षिकोत्सवको अवसरमा आयोजना हुँदै आएको अवार्ड ५ औँ संस्करणबाट छुट्टै समारोहकाबीच हुँदै आएको छ । कान्तिपुर मिडिया ग्रुपका चिफ अफ स्टाफ सिईओ शिशिर पछाईंले संगीत क्षेत्रमा हुने यो अवार्डलाई बृहत् र परिष्कृत बनाउँदै लैजाने बताउनु भयो । ‘रेडियो कान्तिपुरले स्थापनाको २५ वर्षसम्ममा पनि स्रष्टालाई रोयल्टी प्रदान आइरहेको संस्थाको उदाहरण बनेको छ । फरक-फरक विधाका गीतलाई प्रसारण गर्दै ती गीतका स्रष्टालाई सम्मान दिने प्लेटफर्मका रूपमा हामीले यो अवार्ड आयोजना गर्दै आइरहेका छौँ,’ उहाँले भन्नुभयो ।

यसपटक १३ विधामा अवार्ड वितरण गरिने जनाइएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै ‘दीर्घ साधना सम्मान’ (लाइफ टाइम अचिभमेन्ट) तर्फ नेपाली संगीतमा आफ्‌नो जीवन अर्पण गर्ने स्रष्टालाई १ लाख नगदसहित सम्मान गरिने घोषणा गरिएको छ ।

विसं २०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रसारण भएका गीतबाट शीर्ष पाँचको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयनमा परेका शीर्ष पाँचमध्येबाटै ३ सदस्यीय निर्णायकद्वारा विजेताको चयन हुनेछ । 

उत्कृष्ट ‘नवगायक/ नव गायिका’, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट लोक दहेरी गायक/गायिका, उत्कृष्ट पार्श्व गायक/गायिका, उत्कृष्ट आधुनिक/ पप गायक, उत्कृष्ट आधुनिक/पप गायक, उत्कृष्ट सांगीतिक समूह र पिपल्स च्वाइस अवार्ड विधामा अवार्ड प्रदान गरिनेछ । पिपल्स च्वाइस अवार्डको विजेता भोटिङमार्फत् छनौट गरिनेछ ।

यो वर्ष भारतीय रियालिटी शो ईण्डियन आइडलका १२ औँ सिजनका विजेता पवनदीप राजन र समूहले कार्यक्रममा विशेष सांगीतिक प्रस्तुति दिने बताइएको छ । गतवर्ष भारतकै सलमान अलीको विशेष प्रस्तुति थियो । नेपाली संगीत क्षेत्रको उत्थानका लागि बलिउडका चर्चित कलाकारलाई अवार्ड कार्यक्रममा सहभागी गराइँदै आएको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.