गीतकार खनाललाई दुई विधामा नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड

डा. भोला रिजाललाई ‘राष्ट्रिय स्रष्टा सम्मान’
चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
गीतकार खनाललाई दुई विधामा नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड

काठमाडौं । नेपाली गीत संगीतकर्मीहरूलाई विभिन्न १७ विधामा ‘नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ । 

काठमाडौंमा आयोजित अवार्ड समारोहमा गीतकार ध्रुव खनालले दुई विधामा अवार्ड हात पारेका छन् । उनले ‘सैलुङ’ आधुनिक गीतमार्फत् पुरुष मोडल विधाको ‘जुरी अवार्ड’ र ‘मनैमा बस्ने’ गीतबाट ‘पब्लिक च्वाइस’ अवार्ड पाएका हुन् । खनाल कवि तथा उपन्यासकारसमेत हुन् । 

यस्तै ‘चन्द्रसूर्य’ गीतबाट हरिगोपाल प्रधानले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावना अवार्ड’, सूर्यबहादुर मगरले ‘सर्वोत्कृष्ट म्युजिक प्रोड्युसर अवार्ड’, ‘दसैँ तिहार आउँदा’ गीतबाट गायिका सविना बुढा मगरले ‘सर्वोत्कृष्ट चाडपर्व गीत अवार्ड’, ‘धासी पूर्वेली तेर्से भाका’तर्फ धनबहादुर दमाईले ‘सर्वोत्कृष्ट अवार्ड’ प्राप्त गरे ।

जानकी थापाले ‘सर्वोत्कृष्ट कस्टम डिजाइनर अवार्ड’, लोक विधातर्फ ‘झरी’ गीतमार्फत नेत्र भण्डारीले ‘सर्वोत्कृष्ट गायक अवार्ड’, ‘खुकुरी रम’ गीतबाट लक्ष्मी रेग्मीले ‘सर्वोत्कृष्ट गायिका अवार्ड’, ‘ओइ साइँली’का लागि रोमबहादुर श्रेष्ठले ‘सर्वोत्कृष्ट नवगायक अवार्ड’ र ‘भोक’का लागि स्पेस लामिछानेले ‘सर्वोत्कृष्ट नवमोडल अवार्ड’ जिते ।

महिला गायिकातर्फ ‘चरी बाँसैमा’को लागि कमला पोखरेलले ‘पब्लिक च्वाइस’ र लोकगीतबाट पुरुषतर्फको ‘पब्लिक च्वाइस अवार्ड’ दीपसागर थापाले पोल्टामा पारे । 

पप विधातर्फ कल्याण सिंहले ‘सर्वोत्कृष्ट संगीत अवार्ड’, नीरज कुमारले ‘थाहा छैन’का लागि ‘सर्वोत्कृष्ट म्युजिक अवार्ड’, स्मारिका ढकालले ‘धोकेबाज २’ का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’ हात पारिन् । कार्यक्रममा डा. भोला रिजाललाई ‘राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको थियो । 

पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरले नेपाली मौलिक कला संस्कृति संरक्षण तथा प्रवर्धनमा राज्यले सहयोग गर्नुपर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement