काठमाडौं । ठमेलस्थित एलओडी क्लबले छैठौं वार्षिकोत्सव मनाएको छ । क्लब स्थापना भएको ६ वर्ष पुग्दा क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउँदै छ ।
शनिबार साँझ क्लबमा पहिलो दिन पूर्ण राई तथा दाजुभाई, श्रीगो एन्ड द गेन र लिसियस डिजेले प्रस्तुति दिएका थिए । एलओडी क्लबको आफ्नो पहिचान भएकाले क्लबले ६ दिनसम्म वार्षिकोत्सव मनाएको क्लबका निर्देशक भूपेन कुँवरले बताउनुभयो । उहाँका अनुसार ६ वर्ष ६ दिन भनेर वार्षिकोत्सव मनाइएको हो ।
क्लबले दर्शकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर फरक अनुभूति दिन लागिएको उहाँको भनाइ छ । “रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षित गराएको छ”, उहाँले भन्नुभयो, “हामीले क्लब स्थापना गरेसँगै राष्ट्रको नाम राखेका छौं । विभिन्न मुलुकका कलाकार यहाँ प्रस्तुति दिन आउँछन् । अहिले विभिन्न मुलुकले क्लबकै कारण नाम थाहा पाएका छन् ।”
माघ २६ र २८ तथा फागुन १, २, ८ र ९ गते गरी ६ दिन क्लबले वार्षिकोत्सव मनाउने भएको हो । २८ गते कुम सागर एन्ड द ख्वपले प्रस्तुति दिने छन् । साथै फागुनको १, २, ८ र ९ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाइज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने छन् ।
एलओडी क्लब (लर्ड अफ द ड्रिंक्स) विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।