काठमाडौं । नेपाली सिने जगतका लागि भने २०८१ तुलनात्मक रूपमा फलदायी रह्यो । केहि रेकर्ड ब्रेकर चलचित्र, सम्भावना बोकेका केही निर्देशक तथा कलाकारको आगमनले उत्साहित नेपाली चलचित्र बजारलाई २०८२ मा योभन्दा माथि पुर्याउन अझ बढी मिहिनेत गर्नुपर्ने चुनौती छ ।
वर्ष २०८१ मा चलचित्र पूर्णबहादुरको सारङ्गीले नेपाली सिनेमा इतिहासकै सबैभन्दा बढी कमाइ गर्न सफल भयो । ब्लकबस्टर बनेको यो बाहेक १२ गाउँ, छक्का पज्जा ५ र बोक्सीको घर चलचित्र यो वर्ष सुपरहिट भए ।
अरू दर्जनभन्दा बढी चलचित्रले हिट हुँदै लगानी सुरक्षित गरे । ज्वाइँ साब, बेहुली फ्रम मेघौली, पुजार सार्की’, अञ्जिला’, हिट सावित हुँदा मनसरा, फर्की फर्की’, गाउँ आएको बाटो’, तेलभिसा, ह्रस्व दीर्घ, होस्टल-३’ र लाजशरणमले निर्मातालाई सुरक्षित बनाए ।
बहुपतिको कथा उधिनेको द्रौपदी जस्ता चलचित्रले व्यावसायिक सफलता हासिल गर्न नसके पनि चर्चा र प्रशंसा बटुले । नारीको कथा उठाएको कारण सतीदेवी र पारिवारिक कथा पस्किएको सानोसंसार, दुखी आत्मा, आँखा, रावायण, एक्टरः टेक वन, कार्साङ जस्ता चलचित्रले व्यापार धेरै गर्न नसके पनि चर्चा बटुले ।
अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाएका सम्बाला र राजागंजजस्ता चलचित्रले समीक्षकको प्रशंसा कमाए । वर्षको अन्त्यमा आशा गरिएको चलचित्र प्रकाश सपुत निर्देशित वसन्तको व्यापार सन्तोषजनक मात्रै छ ।
शुक्रबार रिलिज भएका पिताम्बर र कर्माले सुखद सुरूवात गरेका छन् । यो वर्ष ६२ चलचित्र प्रदर्शनमा आए । हलमा करोड क्लब हुँदै डिजिटल राइट, विदेशमा प्रदर्शनलगायतबाट यो वर्ष धैरैले लगानी सुरक्षित गरे । चलचित्र विकास बोर्डको तथ्यांकलाई आधार मान्ने हो भने यस वर्ष करिब २ अर्बकाे व्यापार चलचित्र उद्योगले गरेको छ ।
पूर्णबहादुरको सारंगीबाट अभिनेता विजय बराल, ज्वाइँसाबबाट जितु नेपालजस्ता कलाकारले चलचित्रको नायकको मानकमात्र भत्काएनन्, आफ्नै परिचयसमेत बदल्न सफल भए । १२ गाउँबाट डेब्यु गरेका समीर भट्ट सर्वाधिक चर्चामा रहे ।
यसै वर्ष डेब्यु गरेका दिव्या रायमाझी, सिम्रन पन्तलगायतका नयाँ कलाकारले पनि प्रशंसा बटुले । निर्देशनमा पूर्णबहादुर सारङ्गीका सरोज पौडेल र बोक्सीको घरका सुलक्षण भारती नयाँ निर्देशकका रूपमा सफल रहे । यो वर्ष फिल्मको गीतसंगीतमा प्रोमोस्नल संगीतको राम्रै प्रयोग भयो ।
तर नेपाली चलचित्रका लागी अझै गर्नुपर्ने वा सुधार्नुपर्ने पक्षहरू पनि थुप्रै छन् । हाम्रा भुगोल अनुसार चलचित्र हल र भाषालाई ध्यान दिएर विभिन्न भाषा चलचित्र निर्माण गर्नुपर्ने देखिन्छ । पछिल्लो समय स्टार होइन स्क्रिप्ट चल्छ भन्ने मान्यतालाई केहि चलचित्रले सिद्ध गरे पनि अझै अब्बल चलचित्र बनिरहेका छैनन् ।
निर्माता-निर्माताबिचकको मनमुटाव र कलाकारबीच असमझदारी, निर्माता र वितरकबिचको द्वन्द्व त छँदैछ, सेन्सर बोर्डले कैंची र फिल्मका विषयमा मुद्दामामिला अदालतसम्मै पुगेको यो वर्ष पनि धेरै निर्माताले लगानी उठाउनै सकेनन् भने सम्भावना भएकाले पनि सुखद व्यापार गर्नबाट चुके ।