गिनिज बुकमा ध्वनि प्राविधिक कुमार केसीको समूह

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
गिनिज बुकमा ध्वनि प्राविधिक कुमार केसीको समूह

काठमाडौं । ध्वनि प्राविधिक कुमार केसी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । प्रत्यक्ष वाद्यवादनसहितको गायनको लाइभ रेकर्डिङ तथा म्युजिक भिडियो छायांकन उच्च स्थानमा गरेपछि केसीसहितको समूहले गिनिज बुकमा नाम लेखाउन सफल भएको हो ।

सन् २०२२ अप्रिलमा मनाङको तिलिचो तालभन्दा माथि ५१०५ मिटर (१६,७४८फिट ८ दशमलव २ इन्च) मा गएर प्रत्यक्ष वाद्यवादनसहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको थियो । जसको प्रत्यक्ष रेकर्डिङ केसीले गरेका थिए । ‘तिलिचो ताल’ बोलको गीतबाट उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् । जसका विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, संगीतकार सन्तोष श्रेष्ठ र गायक सागरशरद अधिकारी हुन् ।

विगत डेढ दशकदेखि निरन्तर सांगीतिक क्षेत्रमा कार्यरत केसी एक परिचित नाम हो । गायन समूहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै धन्यवाद दिएका छन् । गीत-संगीतमार्फत नेपाललाई चिनाउन मिहिनेत गरेकामा राष्ट्रपति पौडेलले बधाई दिँदै आगामी दिनमा पनि यस्तै कार्यमा अघि बढ्न हौसला दिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement