काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् ।
काठमाडौंमा सोमबार भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तर्क्रियामा उनले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्ने कुरामा कलाकारहरु धेरै सजग हुन जरुरी रहेको बताए । मदिरा, चुरोटलगायत विज्ञापन कलाकारहरुले गर्नु नहुने उनको भनाइ छ ।
उनले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने भन्दै अध्यक्ष केसीले सामाजिक कामका विज्ञापनहरु कलाकारले निःशुल्क गर्नुपर्ने सुझाए । विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको उनको धारणा थियो ।
‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्ने कुरामा धेरै सजग हुन जरुरी छ । कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैलाउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन,’ उनले भने, ‘समाजमा कहिले-काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरु निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौं । त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापनदाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।’
अध्यक्ष केसीले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताए ।