‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गते रिलिज हुने

मंसिर २३, २०८० |कान्तिपुर टीभी संवाददाता
‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गते रिलिज हुने

काठमाडौं । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ ।

दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन् । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए ।

निर्देशक सुब्बाले निर्देशनको सुरुवात गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको सो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लिले सङ्गीत भरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.