चलचित्र निर्माता र हल सञ्चालकबीचको विवाद मिल्यो

मंसिर ७, २०८० |कान्तिपुर टीभी संवाददाता
चलचित्र निर्माता र हल सञ्चालकबीचको विवाद मिल्यो

काठमाडौं । नेपाली चलचित्र निर्माता संघ र चलचित्र संघबीच हलमा चलचित्र प्रदर्शनबाट उठेको आम्दानी बराबर बाँडफाँट गर्ने सहमति भएको छ ।

यसअघि नेपाली चलचित्र प्रदर्शनमा आएको २ सातासम्म निर्माता र हल व्यवसायीबीच बराबर आम्दानी बाँडफाँट र तेस्रो सातादेखि निर्मातालाई जम्मा ३५ प्रतिशत र हल व्यवसायीलाई ६५ प्रतिशत सेयर बाँड्ने व्यवस्था थियो ।

चलचित्र दिमाग खराबले राम्रो ग्राहक पाउँदा-पाउँदै हल व्यवसायीले शो घटाइदिएपछि दुई संघबीच विवाद चुलिएको थियो । निर्माता संघ र चलचित्र संघबीच पटक-पटक भएको छलफलपछि आज यस्तो सहमति भएको हो । सहमतिमा बराबर सेयर बाँटफाँट, स्वदेशी चलचित्रलाई सम्माजनक शो उपलब्ध गराउने, हल व्यवसायीले सरकारसँग लिँदै आएको ट्याक्स, भ्याट छुट सम्बन्धमा निर्माता संघले विरोध नगर्ने, सिनेमा हलमा चलचित्रको प्रोमो बजाएबापत रकम नलिनेलगायत सहमति भएको छ ।

सहमति कार्यान्वयनका लागि भोलि दुवै पक्षका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने र छुटपुट अन्य विषयलाई समेत कार्यदलले संबोधन गर्ने निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.