चलचित्र निर्माता र हल सञ्चालकबीच किन हुन्छ पटक-पटक विवाद ?

कार्तिक ३०, २०८० |श्रृजना बास्तोला
चलचित्र निर्माता र हल सञ्चालकबीच किन हुन्छ पटक-पटक विवाद ?

काठमाडौं । चलचित्र निर्माता र हल सञ्चालकबीच चलचित्र प्रदर्शनलाई लिएर फेरि विवाद चुलिएको छ । निर्माताले नेपाली चलचित्रलाई पर्याप्त शो नदिने आरोप लगाउँदै आएका छन् भने हल सञ्चालकले व्यवसायसमेत हेर्नुपर्ने जिकिर गर्दै आएका छन् । पछिल्लो समय नेपाली चलचित्र ‘दिमाग खराबले’ यही विवादको सामना गरिरहेको छ । यसले नेपाली चलचित्र क्षेत्रलाई नै तरंगित बनाएको छ ।

कात्तिक २४ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र दिमाग खराबले दर्शकको राम्रो साथ पाइरहेका बेला हल सञ्चालकले शो घटाइदिएपछि निर्माताले हलबाट चलचित्र हटाउने चेतावनी दिए । निर्देशक निश्चल बस्नेतले बुधबार सामाजिक सञ्जालमार्फत हल व्यवसायीले नेपाली चलचित्रलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै आक्रोश पोखेका थिए । उनले शोमा मात्र विभेद नभएर आम्दानी बाँटफाँटमा समेत एकरुपता हुनुपर्ने माग गरेपछि निर्माता संघले त्यसमा ऐक्यबद्धता जनाएको अध्यक्ष नवल खड्काले जनाए ।

नेपाली चलचित्र हलमा लाग्दा सुरुको दुई साता हल सञ्चालक र निर्माताबीच टिकटबाट उठेको रकम आधा-आधा बाँटफाँट गर्ने र तेस्रो सातापछि भने हल सञ्चालकले ६५ प्रतिशत र निर्माताले ३५ प्रतिशत मात्रै पाउने प्रावधान छ ।

विगतमा निर्माता संघ र हल सञ्चालकबीच सहमति भएरै यो सूत्र लागु भए पनि यो सहमतिमा अधिकांश निर्माता सन्तुष्ट छैनन् । निर्माताले निरन्तर ५० प्रतिशत सेयर पाउनुपर्ने माग राख्दै आएका छन् । विवाद समाधानका लागि बिहीबार दिनभर दुई पक्षबीचको वार्ता भएको छ । वार्ता सकारात्मक रहेको चलचित्र वितरक गोविन्द शाहीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।

त्यसो त नेपालमा चलचित्र प्रदर्शक र निर्माताबीचको यस्तो द्वन्द्व यो पहिलो होइन । पर्याप्त शो नपाएर हलबाट चलचित्र हटाउने निर्णय लिइएको पनि यो पहिलो घटना होइन । यसअघि चलचित्र ‘प्रकाश’ लाई हलहरुले कम महत्त्व दिएपछि चलचित्रका नायक प्रदीप खड्काले सार्वजनिक रुपमा प्रतिवाद गरेका थिए ।

त्यसैबेला रिलिज भएको ‘राधा’ लाई प्रदर्शनमा पक्षपात गरिएको भन्दै निर्माण पक्षले हलबाटै उतारेको थियो । नेपाली चलचित्र कमिसनका आधारमा प्रदर्शन गर्ने तर विदेशीलाई प्राथमिकता दिने गरेको गुनासो नेपाली चलचित्रकर्मीको रहँदै आएको छ ।


Image

श्रृजना बास्तोला

बास्तोला कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।