काठमाडौं । हरेक वर्षझैं यसपटक पनि तिहार नेपालीको घरआँगनमा आइपुगेको छ । बत्ती र मिठाईको पर्व तिहारमा नाचगान र गीत पनि सँगै जोडिएर आउँछ ।
तिहारलक्षित थुप्रै गीत नेपाली सांगीतिक क्षेत्रमा स्थापित छन् । केही यस्ता गीतहरु छन् जुन हरेक तिहारमा प्राथमिकताका साथ बज्छन् । तिहारको आगमनसँगै सदावहार गीतले तिहारको माहोल बनाउँछन् ।
पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी-भैलो लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै साउन्ड बक्स र डीजेमा गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरुले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।
नेपाली सांगीतिक क्षेत्रमा रहेका थुप्रै तिहारलक्षित गीतमध्ये सदाबहार ७ गीत हामीले प्रस्तुत गरेका छौं ।
तिहारै आयो लौ झिलिमिली...
शम्भु प्रधानले सन् ५० को दशकमा निर्देशन गरेको स्वर्ग चलचित्रमा समावेश यो गीत हरेक तिहारमा प्राथमिकताका साथ बज्ने गर्छ । शम्भुजित बास्कोटाले संगीतबद्ध गरेको यो गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर रहेको छ । यो गीतका रचनाकार यादव खरेल हुन् ।
दियो बाली साँझको, फूल सजाई पूजाको...
तुलसी घिमिरेले निर्देशन गरेको चिनो चलचित्रमा यो गीत समावेश छ । २०४८ सालमा बनेको यो गीतमा कुसुम गजमेरको रचना र रञ्जित गजमेरको संगीत छ । यो गीतमा आशा भोसलेको स्वर छ ।
निधारैमा लर्काएर सप्तरंगी टीका...
राजेन्द्र शलभले निर्देशन गरेको चलचित्र विजय पराजयमा समावेश यो गीत तिहारको सदाबहार गीतअन्तर्गत पर्छ । शम्भुजित बास्कोटाको संगीतबद्ध गीतमा भारतीय गायिका हेम लताले स्वर छ । यो गीतमा दिदीबहिनीले आफ्ना दाजुभाइप्रतिको स्नेह प्रस्तुत गरिएको छ । यसका लेखक कवि तथा गीतकार दिनेश अधिकारी हुन् ।
हाँसेर बोल बहिनी, तिहारको बेलैमा...
चलचित्र माइतीमा समावेश यो गीत तिहारमा अत्यधिक बज्ने सदाबहार गीत हो । यो गीतमा उदितनारायण झा, दीपा झा, आनन्द कार्कीको स्वर छ । यसमा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको अभिनय देख्न सकिन्छ ।
ए हजुर यसपालिको तिहारै रमाइलो...
श्रीकृष्ण श्रेष्ठले बनाएको चलचित्र कोहिनुरमा समावेश यो गीत पनि सदाबहार गीतको सूचीमा रहेको छ । शम्भुजित बास्कोटाको संगीतमा बनेको यो गीतमा अन्जु पन्त र प्रमोद खरेलको स्वर रहेको छ । यसको शब्द रचना सुन्दर श्रेष्ठले गरेका हुन् ।
मखमली फुल्दा, मार्सीधान झुल्दा...
चलचित्र ‘परदेशी’मा समावेश यो गीतमा परदेशमा जेलमा परेको भाइको सम्पूर्ण बाधा हटोस् भन्ने कामनासहित दिदीले ओखर फोरेको प्रसंग निकै मार्मिक छ । यसका गायक र संगीत नारायण रायमाझी हुन् । लेखक लक्ष्मण रायमाझीको रहेको छ ।
वर्षमा दिनैमा लै लै...
यो हरेक तिहारमा युवापुस्तामाझ लोकप्रिय गीत बनेको छ । सुगम पोखरेलको संगीत र स्वरमा रहेको यो गीत रवि श्रेष्ठले रचना गरेका हुन् ।
यस्तै चलचित्र फिटकिरीमा ‘सेलरोटी परिकार खाएर, मनाऔं तिहार देउसिरे गाएर...’ बोलको गीत समावेश छ । चलचित्र पाले दाइमा ‘झेलुँला म बर्खे झरी...’, चलचित्र राहदानीमा ‘साउनको ठूलो भेल पानी पर्यो झम्म-झम्म...’, चलचित्र ‘बन्दी’, ‘निखिल दाइ’, ‘प्यारी बहिनी’, ‘चट्टान’, ‘धर्म’ ‘भाइटीका’, ‘दिदी’ ‘मामाघर’, ‘पछ्यौरी’, ‘पिँजडा’ आदि चलचित्रमा पनि तिहारको परिवेश समेटिएका गीत छन् ।