‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

भाद्र ३, २०८० |कान्तिपुर टीभी संवाददाता
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को उपाधि राई र कार्कीलाई

काठमाडौं । ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई र ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्कीले जितेका छन् । प्रितम भारत र खुशी थाइल्यान्डबासी नेपाली हुन् ।

शनिबार साँझ ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिष्पर्धाबाट गायनतर्फ राई र नृत्यतर्फ कार्कीले उपाधि हात पारे । यो नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कारराशि भएको रियालिटो शो हो । दुवै प्रतियोगिताका विजेता राई र कार्कीले जनही एक-एक करोड पुरस्कार प्राप्त गरे ।

यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) ले हात पारे।

अन्तिम प्रतिष्पर्धा (ग्राण्ड फिनाले) मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट विजेता छानिएका हुन् । मेरो भ्वाइस युनिभर्स सेकेण्ड रनरअफमा शरद हुमगाईं (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) भए । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेण्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) भए । विजयी कलाकारहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’तर्फ सिक्किमका शिशिर ठटाल र प्रितम राई, दार्जलिङका साइराज खाती तथा संखुवासभाका परेश राई र काभ्रेका शरद हुमागाईं अन्तिम पाँचमा परेका थिए । त्यस्तै नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’तर्फ मिङ्मा डि लेप्चा (सिक्किम), खुशी कार्की (थाइल्याण्ड), देवी गर्बुजा मगर (बेल्जियम) तथा नेपालको नेसन सुस्लिङ मगर महोत्तरी र गोरखाका स्वस्तिक अर्याल अन्तिम पाँचमा छनोट भएका थिए ।

इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरे । समूह नृत्यतर्फ भने नेपाल प्रहरी विजेता बनेको छ । यो समूहले २० लाख पुरस्कार प्राप्त गर्‍यो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.