चलचित्र ‘गोर्खा वारियर’ को प्रधानसेनापतिले गरे तारिफ

भाद्र २, २०८० |कान्तिपुर टीभी संवाददाता
चलचित्र ‘गोर्खा वारियर’ को प्रधानसेनापतिले गरे तारिफ

काठमाडौं । शुक्रबार बेलुकी आयोजित चलचित्र ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेरेपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिएका छन् । उनी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मासँग विशेष प्रदर्शनीमा पुगेका थिए ।

‘चलचित्रबारे जति सुनेको थिए, त्यति नै राम्रो पाएँ । जङ्गलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ । यसको पहिलो दर्शक बन्न पाउँदा खुसी छु,’ प्रधानसेनापति शर्माले भने, ‘यो चलचित्र उत्कृष्ट बनेको छ ।’

उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमासमेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे । चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए ।

उनले भने, ‘गाउँ आउँदा लाहुरेलाई चिटिक्क देख्नेले उनीहरुको जीवनसँग नजिक हुन पाउने छन् । यसले उनीहरुको वीरतासँगै परिवारको कथासमेत भनेको छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।’ उनले प्राविधिकरुपमा चलचित्र निकै अब्बल बनेको प्रतिक्रिया दिँदै सम्पूर्ण निर्माण समूहलाई बधाईसमेत दिए ।

निर्देशक चाम्सले चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई ऊर्जा थपेको बताए । ‘म आफैँ पूर्वगोर्खा सैनिक भएकाले यसलाई एकदशकको मेहनतमा बनाएको हुँ । यस्ता चलचित्र पैसाभन्दा पनि चाहनाले बन्छ । अब हामीले हाम्रो कथा भन्न सुरू गर्नुपर्छ भनेर सुरुआत गरेँ,’ निर्देशक चाम्सले भने, ‘मलाई नेपाली आर्मीको वीरताको कथा पनि पर्दामा ल्याउन मन छ । हाम्रो वीरतासँग विश्वसँगै अहिलेको पुस्तालाई चलचित्रको माध्यमले परिचित गराउनु आवश्यक छ ।’

गोर्खालीको वीरतालाई यही भदौ २४ मा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा विशेष प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, ‘हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिँडाएर विदेश प्रदर्शनको आरम्भ गर्दैछौँ । जहाँ बेलायती सेनाको ‘द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिने छन् । यस्ता गतिविधिले हाम्रो चलचित्र र हाम्रो कथालाई विश्वसामु पुर्‍याउन मद्दत गर्नेछ ।’

सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा बनेको ‘गोर्खा वारियर’को आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्च पदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठ, छायांकन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसीलगायत उपस्थित थिए ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.