मिस नेपालका प्रतिस्पर्धीले भोगेको ‘पुरुषवादी’ समाज (भिडियोसहित)

जेष्ठ ३, २०८० |संगम ढकाल
मिस नेपालका प्रतिस्पर्धीले भोगेको ‘पुरुषवादी’ समाज (भिडियोसहित)

काठमाडौं । मिस नेपाल–२०२३ की बिजेतालाई देख्न अब धेरै दिन छैन । को बन्ला त २८ औं मिस नेपाल ? २४ प्रतिस्पर्धीमध्ये कसले ताज पहिरिन्छिन् भन्ने थाहा पाउन जेठ १३ गते हुने फाइनलसम्म पर्खनैपर्छ ।

‘जर्नी टू क्राउन’ को एपिसोड–४ मा सुहाना बज्राचार्यसँग मिस नेपाल २०२३ का ६ प्रतिस्पर्धीले आफ्ना तीता-मीठा अनुभव साटासाट गरेका छन् । नारी भएकै कारण किशोरीहरुले समाजमा भोग्नुपरेको सास्ती उनीहरुको अनुभवमा छचल्किएको छ ।

आयुस्मा बराललाई आफ्ना अभिभावकसँग आफू मिस नेपालको प्रतिस्पर्धामा जान्छु भन्ने आँटै थिएन । कारण थियो– उनका अभिभावक ब्यूटी प्याजेन्टप्रति सकारात्मक नहुनु ।

यतिसम्म कि आयुस्माले ‘मिस्टर एन्ड मिस सुनसरी’ सहभागी हुने इच्छासमेत परिवारलाई सुनाउन सकिनन् । उनी भन्छिन्, ‘म मिस्टर एन्ड मिस सुनसरी’ सहभागी भएकी थिएँ । तर, मैले फर्म भर्दा र अडिसनमा जाँदा पनि घरमा भन्दै भनिनँ । पछि छनोट भएपछि मात्र भनेँ ।’

ब्युटी प्याजेन्ट भविष्य खोजिरहेकी आयुस्मालाई परिवारको डरले रोकेन । आफ्नो लक्ष्यप्रति दृढ उनी ‘मिस्टर एन्ड मिस सुनसरी’की विजेता बनिन् । अहिले उनलाई परिवारको पूर्ण समर्थन छ ।

मिस नेपालकी अर्की प्रतिस्पर्धी प्रज्ञा बज्राचार्यले सन्तानप्रतिको समाजको धारणाले आफ्नो बाल मानिसकतामा परेको असरबारे अनुभव सुनाइन् । उनी भन्छिन्, ‘म एकल सन्तान हुँ । किन एउटा मात्र छोरी जन्माएको भन्ने प्रश्न आफ्न्तबाट आउँथ्यो । मलाई कत्ति नरमाइलो लाग्थ्यो ।’

प्रज्ञाले मात्र होइन, उनका अभिभावकले पनि छोरा नजन्माएका कारण समाजबाट विभिन्न अनावश्यक प्रश्नको समान गर्नु परेको उनी बताउँछिन् । तर, यसलाई प्रज्ञाले सकारात्मक उर्जामा बदल्ने अठोट गरिन् र अहिले मिस नेपालको ‘कन्फिडेन्ट कन्टेस्टटेन्ट’का रुपमा आफूलाई प्रमाणित गर्ने प्रयासमा छिन् ।

प्रज्ञा भन्छिन्– मलाई एकल सन्तानको प्रसंगले मनमा ‘एम आई नट इनफ ?’ भन्ने प्रश्न पनि आउँथ्यो । त्यही समयदेखि मैले कडा प्रतिस्पर्धी बन्छु भन्ने अठोट लिएँ ।

सामाजिक विभेद

ब्युटी प्याजेन्टका प्रतिस्पर्धीहरु मञ्चमा राम्रो पहिरनमा सजिएका, श्रृंगारले भरिपूर्ण, तर्क गर्ने वा सहज बहसमा उत्रन सक्ने आत्मविश्वासी देख्छौं । अर्थात् ‘बोल्ड एन्ड ब्युटिफुल’ देख्छौं । तर, त्यो मञ्चसम्म आइपुग्दा उनीहरुलृ गरेको संर्घर्ष भने नेपथ्यमै रहने गरेको छ ।

नारीहरु अध्ययन, कार्यव्यस्ता, घर बाहिरको काम, ढिला घर पुग्दा छोरी भएकै कारण समाजले उठाउने अनावश्यक एवं परम्परागत प्रश्नको शिकार बनेको प्रशस्तै उदाहरण भेटिन्छन् ।

प्रतिस्पर्धी कबिना श्रेष्ठ फेसन स्टाइलिस पृष्ठभूमिबाट मिस नेपालकी प्रतिस्पर्धी बनेकी हुन् । फेसन स्टाइलिसका रुपमा काम गर्दा उनी सुटिङ लगायतका कामले घरमा ढिलो पुग्दा झन्डै काम छोड्नुपर्ने बाध्यता आइलाग्यो ।

कबिना पुराना दिनको स्मरण गर्छिन्, ‘व्यस्तताका कारण कहिले १–२ नै बज्ने । अनि छिमेकीहरुले मम्मीलाई प्रश्न गर्दा रहेछन्– घर ढिला आउँछे, राति के गर्छे ?’

‘सामान्य काम हो’ भन्ने जवाफ फर्काउँदा फर्काउँदा दिक्कार भएर कबिनाको परिवारले काम नै छोड्न दबाब दिए । तर उनले आफ्नो कामको प्रकृति बताएपछि परिवार कन्भिन्स भयो ।

कबिना भन्छिन्, ‘मेरा अभिभावकलाई मेराबारे नराम्रो सुन्न पनि थिएन र मेरो लक्ष्यबाट बन्चित गर्नु पनि थिएन ।’

प्रज्ञा बज्रचार्यको पनि समस्या उस्तै । उनका परिवार उनको काममा खुसी छन् तर आफन्तबाट निरन्तर उनको काममा प्रश्न उठ्छ ।

प्रज्ञा भन्छिन्, ‘मेरा अभिभावकले चाहिँ मिस नेपालमा एमदमै साथ दिनुभएको थियो तर अरुलाई चाहिँ म किन गएँ भनेर समस्या थियो ।’

उनीको यो अनुभवबाट ब्युटी प्याजेन्टलाई समाजले अझै सकारात्मक रुपमा नलिएको प्रस्ट हुन्छ । हुन त ब्युटी प्याजेन्टलाई सकारात्मक मान्ने कि नकारात्क ठान्ने भन्ने विषयमा ‘हेभी वेइट’ मञ्चमै बहस हुन छाडेको छैन ।

केटा भएको भए..... ? (उनीहरुकै शब्दमा)

स्विन्जा सुनम : मलाई केटी भएर गाह्रो त भएको छैन तर महिनावारी हुँदा पेट एकदमै दुख्छ । त्यसबेला म छोरो भएको भए पनि हुन्थ्यो जस्तो लाग्छ ।

प्रज्ञा बज्राचार्य : पहिला घरबाट निस्किन पाएको हुँदैन थियो, हरेक गल्लीमा जिस्काउने । फरक–फरक नाम दिएर बोलाउने । यसले मलाई नराम्रो महसुस हुन्थ्यो ।

आयुस्मा बराल : म कलेजबाट घर फर्कँदा पैदल हिँडिरहेकी थिएँ । साइकलमा आएको व्यक्तिले मेरो देब्रे छाती समात्नुभयो । मैले उहाँको अनुहार देख्न पाइनँ । फर्केर हेर्दा उहाँ हिँडिसक्नुभएको थियो । मैले एकछिन केही बोल्न सकिँन । मैले ‘रफ वर्ड’ बोलेर गाली गरेँ । उहाँले नसुने जसरी हिँड्नु भयो एक पटक पनि टाउको फर्काउनु भएन । मलाई यो कुरामा उहाँ माहिर भइसके जस्तो लाग्छ । यस्तो कुरामा आफू कहिलेकाहीँ बोल्न सकिँदैन ।

अन्त्यमा, मिस नेपालको ताज जित्न चाहिने तीन कुरा प्रतिस्पर्धीकै शब्दमा –

स्विन्जा सुनम : हाडवर्क, हाडवर्क एन्ड हाडवर्क ।

प्रज्ञा बज्रचार्य : साहस, कडा मिहिनेत र नम्रता ।

होलिसिका कोइराला : कडा मिहिनेत, विश्वस्त र दया ।

आयुस्मा बराल : व्यवसायिक, विश्वस्त र सहनशीलता ।

रजनी मिश्र : समर्पण, दृढ संकल्प र अनुशासन ।

कबिना श्रेष्ठ : ‘बी यू’ (आफू नै प्रस्तुत हुने), कडा मिहिनेत र समर्पण ।

मिस नेपालका २४ प्रतिस्पर्धीमध्ये स्विन्जा सुनम, प्रज्ञा बज्राचार्य, होलिसिका कोइराला, आयुस्मा बराल, रजनी मिश्र र कबिना श्रेष्ठले सुनाएका अनुभव भिडियोमा–