९० बढी देशमा निफको सम्बन्ध विस्तार भएको छ : अध्यक्ष पाठक

चैत्र ३, २०७९
९० बढी देशमा निफको सम्बन्ध विस्तार भएको छ : अध्यक्ष पाठक

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा सञ्चालन भइरहेको छ । चैत २ गतेदेखि सुरु भएको मेलामा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट छनोट गरी ३५ देशका ९५ चलचित्र प्रदर्शन भइहरेका छन् ।

यी चलचित्रको प्रदर्शन काठमाडौंका चारवटा अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छाया सेन्टर, पुलचोकको लबिम मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भइरहेको छ । ओपनिङ फिल्मका रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी (बिहीबार) प्रदर्शन भइसकेको छ । सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ । विगतका तुलनामा यसपटक उल्लेख्य मात्रामा फिल्म मेकर र दर्शक आएका छन् ।

मेला अझै ३ दिन अर्थात् ६ गतेसम्म सञ्चालन हुनेछ । यही सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले निफका अध्यक्ष केपी पाठकसँग कुराकानी गरेको छ । अध्यक्ष पाठकले सरकारले चलचित्र क्षेत्रलाई महत्त्व नदिएको गुनासो गरे । उनले सरकारले यस्ता महोत्सवहरुलाई वार्षिक कार्यक्रममा नसमेटेसम्म यी मेलाहरुको महत्त्व बढ्न नसक्ने धारणा राखे । उनले सरकारले प्राथमिकता दिएर यस्ता चलचित्र महोत्सवहरुलाई वार्षिक रुपमा बजेट छुट्याइदिए अर्को वर्षको निफ सातै प्रदेशमा फिल्म फेस्टिबल गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।

उनले सातै प्रदेशमा फिल्म फेस्टिबल गर्दा अन्तर्राष्ट्रिय स्तरका फिल्महरु सबै नागरिकले हेर्न पाउने र फिल्म फेस्टिबलको दायरालाई विस्तार गर्न सहज हुने जनाए । अध्यक्ष पाठकले ८०/९० देशमा निफको सम्बन्ध विस्तार भएको र यसलाई आगामी दिनमा झनै बढाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए ।

निफ के हो ?

निफ नेपाली इन्टरनेसनल फिल्म फेस्टिबल हो । जुन विश्वव्यापी मान्यताअनुसार विश्वव्यापी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संरचनाअनुसार निफ सञ्चालन भएको थियो । त्यसलाई अघि बढाउने क्रममा आजको दिनसम्म आइपुगेका छौं । यो विश्वव्यापी रुपमा हरेक फिल्म फेस्टिबलमा देखाइने सिनेमाहरु पब्लिक थिएटरमा देखाइने चलन हुन्छ । हाम्रो त्यो किसिमको संस्कृतिभन्दा अलि फरक किसिमको संस्कृति बनेको थियो । नन थ्रिएटिकल ठाउँहरुमा सिनेमा देखाउने र त्यहीँ बहस छलफल आदि गर्ने, संस्कृति बनेको थियो, त्यसलाई नै इन्टरनेशनल फिल्म फेस्टिबल संस्कृति भन्ने हामीले बुझेका छौं । सामान्यत: हामीले देखेको पनि त्यत्ति नै हो । अलि फरक छ भन्ने देखाउन हामीले यस वर्ष सिनेमा देखाउने नै हलमा फिल्म देखाउने वातावरण तयार गरेका छौँ ।

पोखराबाट हामीले पहिलो संस्करण सुरु गरेका थियौं । एउटा ठाउँबाट फिल्म फेस्टिबल गरिरहेको बेला अहिले ५ वटा ठाउँमा फिल्म देखाउने अवस्थामा आइसकेका छौं । त्यति बेला १०/१५ जना मात्रै फिल्म मेकरको सहभागिता थियो भने अहिले ५० जना भन्दा धेरै फिल्म मेकरको सहभागिता छ । त्यतिबेला एउटा मात्रै जुरी कमिटी बन्थ्यो भने अहिले तीनवटा जुरी कमिटी बन्ने अवस्थामा हामी पुगेका छौं । त्यो पनि अन्तर्राष्ट्रिय जुरी कमिटी । त्यसैले आजको दिनसम्म आइपुग्दा निफले आफ्नो लक्ष्य हासिल गरेर अघि बढेको भन्ने लाग्छ ।

यो बीचमा हामी बेल्ट टाइम रोड फिल्म फेस्टिबल अलायन्सको सदस्य बन्यौं । विभिन्न फिल्म सोसाइटीको सदस्य बन्यौं । हामी करिब जिरोबाट अहिले ८०/९० देशमा निफको सम्बन्ध बिस्तार भएको छ । हामीलाई अहिले सामान्य रुपमा पाँच सयभन्दा धेरै फिल्म आउँछन् । ५०/६० भन्दा धेरै देशबाट संगठित हुन्छन् । अहिले भएका फिल्महरु देखाउन नसकेर ९९० वटा फिल्म छान्नुपर्ने अवस्थामा हामी पुगेका छौं । यो भनेको विश्वव्यापी फिल्म मेकरहरुले हामीलाई विश्वास गर्ने वातावरण बनेर हामी यहाँसम्म आइपुगेका छौं ।

निफ कसका लागि हो ?

इन्टरनेसनल फिल्म महोत्सव दर्शकका लागि हो र फिल्म मेकरका लागि हो । दर्शकमा फिल्म हेर्ने संस्कृतिको विकास गर्ने हो, सिनेमा हेर्ने बानी बनिसकेपछि अर्को देशको सिनेमा पनि प्रचार हुन्छ । दर्शकका लागि बजारमा नपाइने, युट्युबमा नपाइने वा कुनै पनि ठाउँमा नपाएने फ्रेस सिनेमाहरु हुन्छन् र फिल्म मेकरलाई अन्य देशका फिल्म मेकरहरुको भेट र चलचित्रबारे छलफल हुने ठाउँ हो । निफ अहिले यस्तो क्षेत्र बनेको छ जहाँ ५०/६० जना फिल्म मेकर विदेशी हुनुहुन्छ । नेपालका फिल्म मेकरहरु पनि आउनुभएको छ । आइडिया सेयर, मार्केटिङ र कोलाब्रेसनको विस्तार गर्ने माध्यम बनेको छ । हामीले कतिपय फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पठाइरहेका छौं । यसअर्थमा दर्शक र फिल्म मेकरका लागि हो । फिल्म मेकरका लागि यो उत्सव हो, दर्शकका लागि पनि विभिन्न देशका सिनेमाहरु चिन्ने प्लेटफर्म हो ।

निफले राजनीतिकर्मी र सरकारलाई बढी महत्त्व दिन खोजेको जस्तो देखिन्छ तर त्यहाँबाट धोका पाएको जस्तो देखिन्छ नि, किन यस्तो ?

चलचित्रको अहिलेसम्म बनेको नीति पनि कार्यान्वयनमा आएको छैन । त्यो नीतिलाई कार्यान्वयनमा ल्याउनु छ । आवश्यकताअनुसारको नीति बनाउन र यस्ता फेस्टिबल राज्यलाई देखाइएन वा राज्यलाई सुनाइएन वा भनिएन भने भोलिका दिनमा अझै गाह्रो हुन्छ । अहिलेको भन्दा झनै गाह्रो हुने देखिन्छ ।

त्यसैले फिल्म फेस्टिबल नर्मल्ली राज्यको फन्डिङमा प्रायोजित हुने हो । अधिकांश देशहरुमा फन्डिङ एजेन्सीहरु हुन्छ । राज्यले प्रत्यक्ष पनि सपोर्ट गर्छ । तर हाम्रोमा त्यस्तो स्थिति बनिसकेको छैन । किनभने हामीले कतै न कतै राज्य, सरकार, नेताहरुलाई बुझाउन नसकिएको हुनसक्छ । फिल्म फेस्टिबलमा ठूला मान्छेहरु आइरहेको बेलामा राज्यका ठूला निकायका मानिसहरु, ओहोदामा बसेका व्यक्तिहरुले आएर सम्बोधन गर्नुभयो भने हाम्रो सम्मान भएको अनुभूति हुन्छ ।

अन्य देशका मानिसले नेपालमा त सिनेमालाई प्राथमिकतामा राखेको रहेछ भनेर अरु देशलाई म्यासेज दिनसके उनीहरुको नेपालप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भन्ने हिसाबले राजनीतिक नेताहरु, सरकारलाई ल्याउने र उहाँहरुको प्रतिबद्धता लिनका लागि हो । राजनीतिक मान्छेहरुको प्राथमिकता राजनीति नै होला । हाम्रो लागि प्राथमिकता सिनेमा हो । उनीहरुको कर्मलाई प्राथमिकता दिनुपरेको होला, त्यसैले हाम्रो कर्मतिर उहाँहरुले प्राथमिकता दिनुभएन ।

निफलाई अघि बढाउन कस्ता योजनाहरु बनाउनु भएको छ ?

हामीले निफमा राम्रो फिल्म र फिल्म मेकरहरु ल्याएका छौं । दर्शकलाई विभिन्न देशका स्वाद पस्किएका छौं । तर महत्त्वपूर्ण गर्नैपर्ने काम हामीले गर्नसकेका छैनौं । किनभने हामीसँग स्रोतको अभाव छ । कर्पोरेट हाउसले हामीलाई सपोर्ट गर्दैन । सरकारको फन्डिङ एजेन्सीहरु छैन । सरकारले वार्षिक कार्यक्रममा राखिदिए हुन्थ्यो भन्ने हो, यस्ता फेस्टिबललाई वर्षको तीन करोडसम्म छुट्याउने अवस्था बन्यो भने त्यो काम गर्न सकिन्छ ।

कुनै पनि फिल्म फेस्टिबलको क्रिएटिबिलिटी बढ्न त्यो फेस्टिबलमा मार्केट, फिल्मको बजार किनबेच हुनुपर्छ । निफ अहिलेसम्म किनबेच प्लेटफर्मका रुपमा विकास भइसकेको छैन । त्यसका लागि बजार, फिल्म प्रोडक्सनको कम्पनीहरु ल्याउन सक्नुपर्छ ।

यसपटक पनि गर्ने पहल गरेको हो स्रोतत-साधनले दिएन । यसपटक काठमाडौं, ललितपुर र भक्तपुरमा किन बिस्तार गरेका हौं भन्दा हाम्रो आगामी लक्ष्य देशव्यापी रुपमा दिने हो । सातै प्रदेशमा एउटै कन्टेन दिएर फेस्टिबल गर्न सकिन्छ कि भनेर काठमाडौंबाहिरका मानिसले पनि संसारका फिल्म हेर्न पाउनेगरी विकास गर्न गइरहेका छौं । त्यसका लागि सरकारले वार्षिक कार्यक्रमअन्तर्गत यो फेस्टिबल राखिदिए कम्तिमा दुई, तीन करोड बजेट छुट्याइदियो भने अर्को वर्षदेखि काम गर्न सकिन्छ । नत्र भने यही सानो क्षेत्रबाट बाहिर उठ्न सक्दैनौं,’ उनले भने ।