सुरु भयो निफ, अतिथिका रुपमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई बोलाए पनि दुवै अनुपस्थित

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुरु भयो निफ, अतिथिका रुपमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई बोलाए पनि दुवै अनुपस्थित

काठमाडौं । काठमाडौंमा बिहीबारबाट छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच निफ सुरु भएको हो । चैत २ देखि ६ गतेसम्म सञ्चालन हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ५५ देशबाट आएका पाँच सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएका छन् ।

उक्त चलचित्रहरु चारवटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छाया सेन्टर, पुलचोकको लबिङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ ।

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन भएको छ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चलचित्रले एक-अर्का देशबीचको संस्कृति र मित्रता विस्तार हुने जनाए । चलचित्रको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध बिस्तार हुने उनको भनाइ छ ।

‘फिल्ममले संस्कृति र मित्रताको सम्बन्धलाई बढाउँछ । यसमा चीन पनि सहभागी हुन पाउँदा हामी खुसी छौं,’ उनले भने, ‘नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गइरहेको छ । चलचित्रको माध्यमबाट झनै जनस्तरसम्म सम्बन्ध बिस्तार गर्न सहज भएको छ ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्तो मेलाहरुले विभिन्न देशबीचको भाषा, संस्कृतिलाई एक-अर्काबीच फैलाउन सहयोग पुग्ने धारणा राखे । महोत्सवले अन्य देशको संस्कृतिका साथै प्रविधिको उच्चतम् प्रयोग गर्न सहयोग पुग्ने जनाए । विदेशीका लागि नेपाल ओपन स्टुडियो रहेको अध्यक्ष केसीको भनाइ छ ।

‘यस्तो किसिमको महोत्सवले विभिन्न देशबीचको भाषा, संस्कृतिलाई एक-अर्काबीच फैलाउन सहयोग पुग्छ । हाम्रो देशको प्रविधिहरुलाई भित्र्याएर हामी विकासमा अघि बढ्न सक्छौं,’ उनले भने, ‘आगामी दिनमा फिल्ममा सुधार गर्न पनि यसले सहयोग पुग्नेछ । यो मेलाबाट धेरै उपलब्धि पाउन सक्छौं । यो कार्यक्रम निरन्तर सफल हुँदै जाओस् । नेपाललाई एउटा ओपन स्टुडियोको रुपमा विदेशीहरुले लिनुभएको छ ।’

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले यस किसिमका मेलाहरुलाई सरकारले वार्षिक कार्यक्रममा राख्नुपर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिए पनि उनी गएनन् । विशिष्ट अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बोलाइए पनि उनी नगएपछि चलचित्र क्षेत्रलाई सरकारले साथ नदिएको अनुभूति भएको अध्यक्ष पाठकको भनाइ छ ।

‘यस्ता मेलालाई सरकारले वार्षिक कार्यक्रममा राखोस् भन्ने हाम्रो आग्रह छ । कम्तीमा यहाँ सरकारको पाइला आइदिएको भए हाम्रो मेला पवित्र हुन्थ्यो कि, विदेशीले हाम्रो चलचित्र क्षेत्रलाई हेर्ने नजर राम्रो हुन्थ्यो कि भन्ने थियो त्यो भएन,’ पाठकले भने । अध्यक्ष पाठकले सरकार अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सवमा नआउनु भनेको चलचित्रप्रतिको उपेक्षा भएको धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.