नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु हुँदै, ३५ देशका ९५ चलचित्र सहभागी

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि सुरु हुँदै, ३५ देशका ९५ चलचित्र सहभागी

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौँ संस्करण आज काठमाडौँमा सुरु हुँदैछ । यसपटको महोत्सवमा ३५ देशबाट ९५ चलचित्र सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

‘विश्वभरका कथाको उत्सव’ नारासहित महोत्सव आजदेखि ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

“महोत्सवका चलचित्रलाई क्युएफएक्स चेनअन्तर्गतका चार हलमा देखाउँदैछौँ । यस्तै अन्तरक्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ”, अध्यक्ष पाठकले भने, “रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिँदै चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञले अन्तरक्रिया गर्दैछन् ।”

महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।

चिनियाँ फिल्म एकेडेमीकी प्राध्यापक ली रानले ‘चिनियाँ फिल्मको भाष्य, बुझाइ र विश्वकै ठूलो फिल्म बजार’ विषयमा र भारतीय निर्देशक प्रेमेन्द्र मजुमदारले घरेलु चलचित्र विषयमा मास्टरक्लास दिनेसमेत अध्यक्ष पाठकले जानकारी दिए ।

यस्तै निफमा प्राध्यापक इटामी बोर्जनको मास्टरक्लास, भूराजनीतिमा चलचित्रको भूमिका, नेपाली दर्शकको विकासक्रम, चलचित्र नीति : नीति मात्रै कि व्यवहार पनि, चलचित्र कास्टिङ : महत्व र अभ्यास, हास्यव्यङ्ग्यले हौसिएको नेपाली चलचित्र र आमा नायिका : जिम्मेवारी र करिअरजस्ता विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.