नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि ६ गतेसम्म हुने भएको छ ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी निफले यसबारेमा जानकारी गराएको हो । निफले महोत्सवका लागि सबै तयारी पूरा भएको पनि जनाएको छ । निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीबाट हुने आयोजकले जनाएको छ । कार्यक्रममा निफ महोत्सवका निर्देशक यादव भट्टराईले महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सवको तयारीका लागि निफ टिम विगत तीन महिनायता जुटेको पनि जनाए ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले निफले चलचित्रसँग प्रत्यक्ष सम्बधित कार्यक्रम गर्दै आएको र अपेक्षित रुपमा सफलता पाइरहेको धारणा राखे । उनले निफ असाध्यै महत्त्वपूर्ण कार्यक्रम रहेकाले सबै चलचित्रकर्मी सहभागी हुन र चलचित्र हेर्न दर्शक पनि उपस्थित हुनुपर्ने जनाए । उनले चलचित्रमा भएको क्षतिलाई प्रधानमन्त्री कार्यक्रममा सहभागी भएर वचनबद्धता गर्ने आशा राखेको धारणा राखे ।

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले यसपटकको महोत्सवमा ५० जनाभन्दा बढी फिल्म मेकर बाहिर देशबाट आउने जानकारी दिए । उनले निफलाई विश्वास गरेर विगतझैँ यसपटक पनि राम्रा फिल्म र फिल्म मेकरहरुले मेलामा सहभागिता जनाउने वचनबद्धता दिएको जनाए । मेलाले फिल्मकर्मीबीच छलफल र भेटघाटको अवसर मिल्ने पाठकको भनाइ छ ।

५५ देशबाट आएका पाँच सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले बतायो । यी चलचित्रको प्रदर्शन चारवटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छाया सेन्टर, पुलचोकको लबिम मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ ।

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन हुनेछ । उल्लेखित सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ । यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने तयारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.