‘छक्का पञ्जा–४’ को आक्रामक सुरुवात ‘छड्के–२’ लाई सकस

फाल्गुन २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
‘छक्का पञ्जा–४’ को आक्रामक सुरुवात ‘छड्के–२’ लाई सकस

काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् ।

प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’ मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।

यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन् । यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहनुभएको प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता गिरीले भने ।

यस्तै अर्को चलचित्र ‘छड्के–२’ प्रदर्शनमा आएको छ । यो ‘छड्के’ को सिक्वेल हो । यसमा अभिनेता अनमोल केसी फरक भूमिकामा प्रस्तुत हुनुहुन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ । यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.