भुवन केसीले भने- रिटायर्ड हुने बेलामा जागिर खान आएँ

माघ २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
भुवन केसीले भने- रिटायर्ड हुने बेलामा जागिर खान आएँ

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको जनाएका छन् ।

काठमाडौंमा बिहीबार चलचित्र प्राविधिक संघको आयोजनामा भएको ११औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा उनले चलचित्र विकास बोर्ड नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको जानकारी दिए । ‘आजको दिनमा हाम्रो एउटा मात्रै उद्देश्य र लक्ष्य भनेको नेपाली चलचित्रहरु अन्तर्राष्ट्रिय स्तरमा चलोस्, कला संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुर्‍याओस्,’ उनले भने ।

उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको जानकारी दिए । ‘नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण चलचित्र ऐन, २०२६ सालमा बनेको थियो, अहिलेसम्म त्यही चलिरहेको छ । त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन,’ उनले भने, ‘चलचित्र विकास र प्रवर्द्धनका लागि मरिमेटेका छौं । चलचित्र क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु । चलचित्र क्षेत्रमा केही गर्न सकुँ भनेर नै त्यहाँ गएको हुँ । अमेरिकामा गएर नेपाली चलचित्रको बारेमा कार्यक्रम गर्नु नै फलामको चिउरा चपाएसरह छ ।’

अध्यक्ष केसीले चलचित्र प्राविधिक संघले नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै अमेरिकामा नेपालले गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाएसरह रहेको जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.