कलाकारको चुनाव मोह : करिश्मा आउट, मनीषाको ‘इन्ट्री’

कार्तिक २८, २०७९ |संगम ढकाल
कलाकारको चुनाव मोह : करिश्मा आउट, मनीषाको ‘इन्ट्री’

काठमाडौं । स्थानीय तहको निर्वाचनले देशको राजनीति लहर नै परिवर्तन गरायो । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भए । उनी पेसाले र्‍यापर र पूर्वाधार इन्जिनियर हुन् । शाहकै चुनावी प्रचारको प्रभावले उपत्यका बाहिरका स्वतन्त्र उम्मेदवारलाई जित हालिस गर्न केही सहयोग भयो । बालेन्द्रको उदयसँगै कलाकारहरु समेत राजनीतिमा आकर्षित हुन थाले ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कलाकारलाई पार्टी प्रवेश गराउने दलहरुको पुरानै रीति हो । नायिक करिश्मा मानन्धर एमालेमा प्रवेश गरिन् । ‘हेन्डसम हंक’ नायक अनुप विक्रम शाही कांग्रेसमा प्रवेश गरे । चर्चित अभिनेत्री मनीषा कोइराला राप्रपाको आमसभामा सम्वोधन गर्न पुगिन् ।

भुवन केसीलाई चलचित्र विकास बोर्डको अध्यक्ष हत्याउन कांग्रेस प्रवेश गरेको आरोप लाग्यो । उनले चर्कै आलोचना खेपे । तर, यी कलाकार अहिलेको चुनावमा उम्मेदवार बनेनन् ।

पार्टी प्रवेशको क्रममा करिश्माले आफ्नो न्वारानको नाम एमालेको सूर्यसँग मिल्दो, सूर्यकुमारी रहेको बताएकी थिइन् । उनले फेसबुकमा आफ्नो नाम सूर्यकुमारी राखिन् ।

एमालेले उम्मेदवार नबनाउने पक्का भएपछि करिश्माले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदैछ । बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’

करिश्मा मानन्धर राजनीतिबाट ‘ब्याक’ भए पनि अभिनेत्री मनीषा कोइराला विहीबार बसन्तपुरमा राप्रपाको आमसभामा भाषण गर्दै राजनीतिमा ‘इन’ भएकी छिन् । वीपी कोइरालाकी नातिनी मनीषाले कांग्रेसलाई साथ दिनुको साटो राजतन्त्रको वकालत गर्ने राप्रपालाई साथ दिएकी छिन् ।

पुराना पुस्ताका नेतालाई बिदाइ गर्न भन्दै सामाजिक सञ्जालमा थुप्रै ग्रुप र पेज खोलिएका छन् । ‘नो नट अगेन’ अभियानले चर्चा पाएको छ । यसले राजनीतिक दलमा राम्रै हलचल ल्याएको छ । चुनावी मैदानमा स्वतन्त्र र युवा उम्मेदवारको सक्रियता देखिएको छ । यही प्रसंगमा कलाकार निर्देशक निश्चल बस्नेत लेख्छन्, ‘२०औं वर्ष सत्तामा बसेर अहिले पनि हामी बनाउँछौं नेपाल भन्नेलाई भोट हालिन्न ।’

हास्य कलाकार तथा निर्देशक दीपकराज गिरी पनि बूढा नेतासँग सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘आफ्नो भोट खेर फाल्दिनँ, ६० काटेकालाई हाल्दै हाल्दिनँ ।’

नेपाली चलचित्र क्षेत्रमा दलका सक्रिय कार्यकर्ता धेरै छन् । केही कलाकार पार्टीका जिम्मेवार पदमा पनि छन् । तीमध्ये केही कलाकार आगामी मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार बनेका छन् । ती हुन्:

कोमल वली

कोमल वली गायिका साथै पूर्वसमचार बाचिका हुन् । वली २०७३ मा रेडियो नेपालको जागिर छोडेर सक्रियरुपमा राजनीतिमा होमिएकी हुन् । राप्रपा नेपालबाट राजनीतिक यात्रा सुरू गरेकी उनी अहिले नेकपा एमालेमा आइपुगेकी छन् । वली २०७४ असोज ९ गते एमालेमा प्रवेश गरेकी थिइन् । २०७४ को निर्वाचन पश्चात उनी एमालेबाट संसद बनिन् ।

मंसिर ४ को निर्वाचनमा वली एमालेबाट दाङ क्षेत्र नं.३ को उम्मेदवार बनेकी छन् । उनका मुख्य प्रतिस्पर्धी गठबन्धका तर्फबाट कांग्रेसका उम्मेदवार पूर्वसिंंचाइ मन्त्री दीपक गिरी छन् ।

२०७४ को निर्वाचनमा यो क्षेत्रमा एमालेले जितको थियो । त्यसबेला एमाले र माओवादी मिलेर चुनाव लडेका थिए । गिरीले एमालेका तत्कालीन उम्मेदवार मेटमणि चौधरीसँग ६ हजार पाँच सय ५६ मतको अन्तरले हार व्यहोरेका थिए ।

रेखा थापा

नेपाली चलचित्र क्षेत्रकी स्थापित कलाकार नायिका रेखा थापा २०७० जेठमा नेकपा माओवादीमा प्रवेश गरेयता सक्रियरुपमा राजनीतिमा छिन् । २०७० भएको संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीबाट पर्सा क्षेत्र नंं १ को उम्मेदवार बन्ने कुराले उनको निकै चर्चा भएको थियो तर मतदाता सूचीमा नाम नभएका कारण उनी उम्मेदवार बन्न पाइनन् ।

रेखा २०७३ मंसिरमा माओवादी छाडेर कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरिन् । ०७८ को महाधिवेशनमा रेखाले राजेन्द्र लिङ्देनको पक्षबाट पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् तर कुन्ती शाहीसँग पराजित भइन् । शाहीले दुई हजार आठ मत ल्याउँदा रेखाले १ हजार ६४० मत ल्याएकी थिइन् ।

रेखा अहिलेको निर्वाचनमा राप्रपाबाट मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवार बनेकी छिन् । उनका मुख्य प्रतिस्पर्धी एमालेका भानुभक्त ढकाल र कांग्रेसका सुनीलकुमार शर्मा छन् । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । उनले एमालेका सुनील कुमार शर्मालाई १ हजार ९०७ मतको झिनो अन्तरले हराएका थिए ।

‘काली’, ‘हिम्मतवाली’, ‘के यो माया हो’, ‘मेरो एउटा साथी छ’ रेखाका हिट चलचित्र हुन् । चुनावी मैदानमा पहिलोचोटि उत्रेकी रेखाले कस्तो इतिहास रच्लिन्, अर्को साता प्रष्ट हुनेछ ।

रोज राणा (सरोज थापा)

कलाकार तथा निर्देशक सरोज थापा वास्तविक नामले सानो सर्कलमा मात्र परिचित छन् । उनी रोज राणा नामले बढी परिचित छन् । रोज राणा नेपाली कांग्रेसको प्युठान क्षेत्र नं. १ ‘ख’ का उम्मेदवार हुन् ।

राणाले ‘टक्कर दुई मुटुको’,‘म छु नि तिम्रो’ लगायतका चलचित्रमा अभिनय गरेका छन् भने ‘जय पशुराम’ र ‘मेरो पैसा खोइ?’ चलचित्रको निर्देशन गरेका छन्। उनले ‘दादागिरी’, ‘दोस्ती’, ‘डन’लयायत एक दर्जनभन्दा चलचित्रमा निर्माण गरेका छन् ।

मधुसुधन पाठक (सिते बा)

हास्य टेलिचलचित्र भद्रगोलमा ‘सिते बा’को पात्रबाट चर्चित भएका मधुसुधन पाठकले काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका छन् । चुनाव चिह्न लौरो भएको ‘हाम्रो नेपाली पार्टी’ले उनलाई उम्मेदवार बनाएको छ ।

सिते बा उठेको क्षेत्रबाट २०७४ सालमा एमाले उपाध्यक्ष ईश्वर पोख्रेल निर्वाचित भएका थिए । पोख्रेलका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेका नेता प्रकाशशरण पराजित भएका थिए ।

हिमेश पन्त

‘कमेडी च्याम्पियन’ सिजन १ का विजेता हिमेश पन्त धार्दिङ क्षेत्र नं.१ का उम्मेदवार हुन् । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका भुमि त्रिपाठी भारी मतले विजयी भएका थिए ।

हिमेश ‘स्टयान्ड अप कमेडी’बाट उदाएका हास्य कलाकार हुन् ।

सञ्जय श्रेष्ठ

‘माया मेरी माया’, ‘अन्जाल मायालु’ लगायत दर्जनौं हिट गीत गाएका पप गायक सञ्जय श्रेष्ठ मंसिर ४ को चुनावमा उम्मेदवार बनेका छन् । काठमाडौं क्षेत्र नं. ६ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको चुनाव चिह्न माछा हो ।

श्रेष्ठले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान लयागत अन्य २१ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

यस अघिको निर्वाचनमा यस क्षेत्रबाट भीमसेनदास प्रधान निर्वाचित भएका थिए ।

मिलन लामा (विष्णु)

गायक मिलन लामा पनि यस पटकको चुनावमा उठेका छन् । उनी चितवन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार हुन् । उनको चुनाव चिह्न सूर्यमुखी फूल हो ।

‘माझी दाइ पोखरा फेवा तालको’,‘झल्को लाली ओठको’यी दुई लामाका चर्चित गीत हुन् ।

यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता सुरेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका थिए । पाण्डेले ५१ हजार ८० मत ल्याएका थिए । कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई उनले १५ हजार ७ सय २० मत अन्तरले पाराजित गरेका थिए ।

मुरली मिझार उर्फ मुरलीधर

गायक मुरली मिझार उर्फ मुरलीधर पनि यस पटकको निर्वाचनका उम्मेदवार बनेका छन् । उनी ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’को सिराहा क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनी कांग्रेस नेतृ चित्रलेखा यादव, जनता समाजवादी पार्टीका राजकिशोर यादव लगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

‘निष्ठुरीले माया गरी आफैलाई रोगी बनायो’, ‘आमाले भन्थे धाराको पानी’, ‘उडायो सपना सबै हुरी’ले उनको सर्वाधिक चर्चित गीत हुन् ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट माओवादीका उम्मेदवार सुरेशचन्द्र दास निर्वाचित भएका थिए ।

बद्री पंगेनीले गाए माओवादीको गीत

वरिष्ठ लोकगायक बद्री पंगेनीलाई नेकपा एमालेको ब्रान्ड एम्बेस्डरको आरोप लाग्दै आएको थियो । यसअघिको निर्वाचनमा एमालेको चुनावी प्रचार गीत गाएका कारण उनलाई यो आरोप लागेको थियो । ‘मै पनि एमाले’ बोलको गीतमा पंगेनीले आवाज दिएका थिए उनलाई साथ दिएकी थिइन् गायिका प्रिया भण्डारीले ।

यसपालि पंगेनीले माओवादीको चुनावी प्रचारको गीत गाएका छन् । पंगेनीले ‘अघि अघि प्रचण्ड’ बोलको गीत गाएका हुन् । यस गीतमा उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले साथ दिएकी छन् ।

यी गायकले गाए चुनाव प्रचारको गीत

गायक तथा संगीतकार चेतन सापकोटाले माओवादीको चुनाव प्रचारको गीत गाएका छन् । उनले ‘गठबन्धलाई नजिताइ भा छैन’ बोलको गीत गाएका हुन् ।

गायन क्षेत्रमा सक्रिय रहेकी प्रचण्डकी नातिनी स्मिता दाहालले पनि माओवादीको चुनाव प्रचारका दुई वटा गीतमा आवाज दिएकी छन् । उनले ‘गठबन्धलाई नजिताइ भा छैन’ बोलको गीतमा चेतन सापकोटा र ‘अघि अघि प्रचण्ड’ बोलको गीतमा बद्री पंगेनीलाई साथ दिएकी हुन् ।