
धनकुटा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पुराना दल र नेताबाट मुलुकको समृद्धि र सुशासन अघि बढ्न नसक्ने बताउनु भएको छ । पार्टीको आमसभाका लागि धनकुटा पुग्नुभएको साम्पाङले पुरातनवादी सोचका पार्टी र अदुरदर्शी नेताकै कारण मुलुकले पटकपटक दुर्घटना भोग्नु परेको बताउनु भयो ।
भदौ २३ मा भएको जेन–जी बिद्रोह त्यसैको सन्देश भएको बताउनु भयो । धरान उपमहानगरपालिका प्रमुख समेत रहेका साम्पाङले स्वदेशमै रोगजारी, श्रमको संस्कार र सुशासन स्थापित गर्न आफ्नो नेतृत्वको श्रम संस्कृति पार्टी सक्षम रहेको दावी गर्नुभयो । सिंहदरबार र सर्वोच्च अदालत जोगाउन नसक्नेहरुबाट मुलुक बन्छ, भनेर अपेक्षा गर्नु नै मुर्खता हुने साम्पाङको भनाई थियो ।
रोजगारीको खोजीमा बिदेशमा रहेका नेपालीलाई फर्काएर स्वदेशमै रोजगारी दिने योजना आफूसँग रहेको दावी गर्नु भयो । पुराना दलका नेताको गल्ती, कमजोरी र भ्रष्टाचारकै कारण देशमा भएका संभावनालाई लत्याएर युवाहरु बिदेशिनु पर्ने दुरभाग्य रहेको उहाँको भनाई थियो ।