हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रकी तिमिल्सिना ४३ मतान्तरले विजयी हुनु भएको हो ।
सर्केगाडमा चार हजार पाँच सय २४ मत खसेकामा तिमिल्सिनाले एक हजार ६ सय ३७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगीता शाहीले ५१, रास्वपाकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गर्नु भयो । खसेको मतमध्ये ७८ मत बदर भएका छन् ।
विसं २०७९ मा कांग्रेस र माओवादी केन्द्रले मिलेर निर्वाचन लडेकामा उक्त गठबन्धनबाट कांग्रेसका तर्फबाट अध्यक्ष पदका र माओवादीका तर्फबाट उपाध्यक्षमा पदका उम्मेदवार विजयी हुनु भएको थियो । उपाध्यक्ष चन्द्रसिंह कार्कीको गत भदौ ४ गते सवारी दुर्घटनामा निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन भएको हो ।