काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा बढीभन्दा बढी मतदातालाई सहभागी गराउने भन्दै निर्वाचन आयोगले प्रचारप्रसार गरे पनि अपेक्षित मतदान भएन । बरु २०७९ सालमा भएको निर्वाचनको तुलनामा कम मत खसेको छ । पालिका प्रमुख वा उपप्रमुख चयनका लागि आठ पालिकामा भएको मतदानको अवस्था हेर्दा २१ प्रतिशतसम्म मतदान घटेको देखिएको हो ।
जनप्रतिनिधि चयन गर्ने निर्वाचन भन्ने बित्तिकै उम्मेदवार मात्रै नभई मतदातामा पनि उत्तिकै उत्साहित हुनु पर्ने हो । तर पछिल्ला निर्वाचनमा मतदाता बढे पनि मतदान गर्नेहरू कम हुँदै गएका छन् । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा पनि त्यस्तै देखिएको छ । निर्वाचन आयोगले समग्रमा ६२ प्रतिशत मतदान भएको जनाएको छ । तर ८ वटा स्थानीय तहमा प्रमुख वा उपप्रमुख चयन गर्न भएको मतदानमा अघिल्लो निर्वाचनभन्दा २१ प्रतिशतसम्म कम मत खसेको छ ।
यी पालिकामा २०७९ मा भएको निर्वाचनमा एक लाख ११ हजार नौ सय १४ जना मतदाता थिए । अहिले मतदाताको संख्या बढेर एक लाख २७ हजार चार सय सात जना पुगे । तर मत प्रतिशत २०७९ वैशाखमा भएको निर्वाचनमा भन्दा घटेको छ ।
कीर्तिपुर नगरपालिकामा अघिल्लो निर्वाचनमा ७९ प्रतिशत मत खसेको थियो । तर अहिले १४ प्रतिशतले घटेर ६५ प्रतिशत मात्र मतदान भयो । जबकि कीर्तिपुरमा २०७९ सालमा ३० हजार तीन सय २८ जना मतदाता भएकोमा अहिले ३१ हजार एक सय १२ जना छन् ।
त्यसैगरी दैलेखको महाबु गाउँपालिकामा यसअघि ६८ प्रतिशत मत खसेकोमा यस पटक १३ प्रतिशत कम मतदान भयो । अर्थात् यहाँ ५५ प्रतिशत मत खसेको छ । २०७९ मा १२ हजार दुई सय १७ जना मतदाता रहेको महाबुमा अहिले १२ हजार ६ सय १४ मतदाता छन् । दोलखाको गौरीशंकर गाउँपालिकामा पनि अघिल्लो निर्वाचनमा भन्दा १८ प्रतिशत मत कम खसेको छ । अघिल्लो पटक ६६ प्रतिशत मतदान भएको गौरीशंकरमा यस पटक ४८ प्रतिशत मत खसेको हो । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा २१ प्रतिशतले मत कम खसेको छ । अघिल्लो पटक ७४ प्रतिशत खसेको पालिकामा अहिले ५३ प्रतिशत मात्रै मतदान भयो ।
जाजरकोटको नलगाड गाउँपालिकामा पनि १० प्रतिशतले मत कम खसेको छ । अघिल्लो पटक ७४ प्रतिशत मतदान भएको यो पालिकामा यस पटक ६४ प्रतिशतले मात्रै मतदान गरे । यो पालिकामा १६ हजार चार सय ४९ जना मतदाता छन् । अघिल्लो निर्वाचनमा १६ हजार पाँच सय चार जना थिए ।
हुम्लाको सर्केगाड गाउँपालिकामा पनि अघिल्लो निर्वाचनको तुलनामा १२ प्रतिशत कम मतदान भयो । २०७९ सालमा ७८ प्रतिशत मत खसेको यो पालिकामा अहिले ६६ प्रतिशत मात्रै मत खसेको हो ।
त्यसैगरी मोरङको ग्रामथान गाउँपालिकामा ७१ प्रतिशत मतदान भए पनि यो अघिल्लो निर्वाचनको तुलनामा सात प्रतिशतले कम हो । ग्रामथानमा अघिल्लो पटक ७८ प्रतिशत मत खसेको थियो । यहाँ अघिल्लो निर्वाचनमा २५ हजार तीन सय ४२ मतदाता रहेकोमा यस पटक २६ हजार ४४ थिए ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा पनि २० प्रतिशत कम मत खस्यो । अघिल्लो निर्वाचनमा ७२ प्रतिशतले मतदान गरेकोमा यस पटक ५२ प्रतिशत मात्र निर्वाचनमा सहभागी भए । यो पालिकामा सात हजार चार सय ६० जना मतदाता छन् ।
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो । तर प्रत्येक निर्वाचनमा कम खस्नुलाई सकारात्मक भने मान्न सकिँदैन ।