अन्तिम परिणामसहितको प्रतिवेदन गण्डकी प्रदेशले पनि बुझ्यो

पुस २, २०७९ |ऋषिकान्त पौडेल
अन्तिम परिणामसहितको प्रतिवेदन गण्डकी प्रदेशले पनि बुझ्यो

कास्की । निर्वाचन आयोगले गण्डकी प्रदेशसभा निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी शनिबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष प्रदेशसभातर्फ ६० जना निर्वाचित भएको प्रतिवेदन पेस गरेको हो ।

गण्डकीमा प्रत्यक्षतर्फ ३६ जना तथा समानुपातिक तर्फ २४ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । जसमा पुरुष ३९ र महिला २१ जना छन् । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ सय ६ पुरुष र २९ जना महिला गरी कूल २ सय ३५ जनाको उम्मेदवारी कायम हुँदा समानुपातिकतर्फ ३ सय ४४ जना उम्मेदवारको अन्तिम बन्द सुची कायम गरिएको प्रतिवेदनमा उल्लेख छ । 

यस पटकको निर्वाचनमा गण्डकी प्रदेशमा कूल १८ लाख १७ हजार ५ सय ४१ मतदाता रहेका थिए । जसमध्ये १० लाख ४६ हजार ७ सय २८ मत खसेको हो । गण्डकीमा खसेको मतमध्ये ९६ दशमलव ७५ प्रतिशत सदर हुँदा ३ दशमलव २५ प्रतिशत मत बदर भएको जनाइएको छ । 

प्रत्यक्ष निर्वाचित हुने प्रणालीतर्फ गण्डकीमा २४ र समानुपातिक तर्फ ३१ राजनीतिक दलहरू निर्वाचनमा सहभागी थिए । समानुपातिक प्रणालीतर्फको निर्वाचनमा प्रदेशसभातर्फ बन्द सुची पेस गर्ने दलमध्ये २४ राजनीतिक दलको धरौटी जफत भएको छ । 

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत गण्डकी प्रदेशमा जम्मा ७ ओटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ । समानुपातिक तर्फ गण्डकीमा नेकपा एमाले पहिलो दल बन्दा नेपाली कांग्रेस दोस्रो , नेकपा माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, हाम्रो नेपाली पार्टी पाँचौँ नेकपा एकीकृत समाजवादी छैटौँ र राष्ट्रिय जनमोर्चा सातौँ स्थानमा छन् । 

तर ६० सदस्यीय प्रदेश सभामा काँग्रेसको २७, एमालेको २२ , नेकपा माओवादी केन्द्रको ८ र राप्रपाका २ सांसद निर्वाचित भएका छन् । 


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।