काठमाडौंमा कांग्रेस र स्वतन्त्र हाबी, एमालेले बीउ जोगायो

मंसिर ७, २०७९ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा कांग्रेस र स्वतन्त्र हाबी, एमालेले बीउ जोगायो

काठमाडौं । प्रतिनिधिसभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम नतिजाअनुसार काठमाडौंमा एमालेले एक सिट जितेको छ । माओवादीले कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेन ।

काठमाडौंमा कांग्रेसले पाँच र निर्वाचनको संघारमा स्थपाना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चार स्थानमा जित हासिल गरेको छ । सत्तागठबन्धका माओवादी र एकीकृत समाजवादी काठमाडौंका १० वटै क्षेत्रमा उपविजेतासम्म बन्न सकेन ।

काठमाडौं १ : रवीन्द्रको दोस्रो प्रयास असफल 

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२५ मतको अन्तरले पराजित गरेका हुन् । कांग्रेसका सिंह ७,१४३ मतका साथ निर्वाचित भएका हुन् ।

योसँगै सिंहलाई पराजित गर्ने मिश्रको दोस्रो प्रयास असफल भएको छ । २०७४ निर्वाचानमा पनि यस क्षेत्रमा यी दुईबीच कडा प्रतिस्पर्धा भएको थियो । मिश्र ८१८ मतको अन्तरले पराजित भएका थिए ।

काठमाडौं २ : एकमात्र महिला सांसद 

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १५,२२९ विजयी भएकी छन् । उनले एमालेका मणिराम फुयाललाई ३,६७४ मतले हराएकी हुन् । योसँगै २७ वर्षीया सोविता काठमाडौंकी एकमात्र महिला सांसद बनेकी हुन् ।

काठमाडौं ३ : कांग्रेस हाबी

काठमाडौं क्षेत्र नम्बर ३ नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो । अन्ततः नेपाली कांग्रेसका सन्तोष चालिसे १५,१५८ मतका निर्वाचित भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी कृष्णबहादुर राई ११,१९६ मतका साथ उपविजेत बने । एमालेका कृष्ण राई २०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए ।

काठमाडौं ४ : गगनको ‘ह्याट्रिक’

काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापा २१,३०२ मतका साथ ठूलो मतान्तरले निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराई १३,८५५ मतमा सिमित भएका थिए ।

२०७४ को चुनावमा पनि थापा र भट्टराईबीच नै प्रतिस्पर्धा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारसमेत रहेका डा. भट्टराईले दोस्रो प्रयासमा पनि आफ्ना प्रतिस्पर्धी थापालाई पराजित गर्न सकेनन् ।

यससँगै कांग्रेस महामन्त्री थापा चौथोपटक सांसद बनेका छन् । प्रत्यक्षतर्फ उनको यो तेस्रो जित हो । पहिलो संविधानसभा २०६४ मा उनी समानुपातिक सांसद् थिए । २०७० को दोस्रो संविधानसभा र २०७४ को आमनिर्वाचनमा उनी काठमाडौं ४ बाटै निर्वाचित भएका थिए ।

महामन्त्री थापाले सांसद जितेपछि प्रधानमन्त्रीका लागि नेपालीका कांग्रेस संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

काठमाडौं ५ : ‘हेभी वेट’ पोख्रेललाई पौडेल भारी

काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका ‘हेभी वेट’ नेता ईश्वर पोख्रेलाई पराजित गरेका हुन् ।

कांग्रेसका पौडेलले १५,२३७ मत ल्याएर निर्वाचित हुँदा एमालेका पोख्रेल १०,१७५ मतका साथ उपविजेता बने ।

यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोख्रेल ठूलो मतान्तरले विजयी भएका थिए ।

काठमाडौं ६ : शिशिरले बजाए घण्टी

काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका भीमसेनदास प्रधानलाई हराएका हुन् । शिशिरले १४,२०४ मत ल्याउँदा सर्वेन्द्रले ८,९११ र प्रधानले ८,८०५ मतमै चित्त बुझाउनुपर्यो ।

यस क्षेत्रबाट कांग्रेसका प्रधान २०६४ को संविधानसभा पराजित भएका थिए । त्यस्तै उनी २०७० को दोस्रो संविधानसभा र का २०७४ को निर्वाचनमा विजयी भएका थिए ।

काठमाडौं ७ मानुषीको चर्चै बढी

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८,७४३ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका श्याकुमार घिमिरे ६,८०० मतका साथ उपविजेता बने । माओवादी केन्द्रले यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमि भट्टराईलाई उम्मेदवार बनाएको थियो । उनी ६,०६३ मतका साथ तेस्रो भइन् ।

यसअघि यस क्षेत्रबाट २०७४ को निर्वाचनमा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए ।

काठमाडौं ८ : दुई नयाँ पार्टीको प्रतिस्पर्धा

यस क्षेत्रमा दुई नयाँ पार्टीबीच प्रतिस्पर्धा भएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका सुमन सायमी प्रतिस्पर्धामा थिए । अन्तत: स्वतन्त्र पार्टीका श्रेष्ठ १०,१०५ मतका साथ विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी सुमन सायमी ५,८८९ मतका साथ उपविजेता बने । २०७४ सालमा भएको चुनावमा निर्वाचित एमालेका सांसद जीवनराम श्रेष्ठ ४,८७७ मतका साथ तेस्रो भएका छन् ।

काठमाडौं ९ : एमालेले बीउ जोगायो

यस क्षेत्रमा जित निकाल्दै नेकपा एमालेले काठमाडौंमा बीउ जोगाएको छ । यहाँ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतले पराजित गरेका हुन् ।

२०६४ र २०७० को संविधानसभाको निर्वाचनमा श्रेष्ठ पराजित भएका थिए । तर २०७४ को आमनिर्वाचनमा विजयी भएका श्रेष्ठ यसपालि पनि विजयी भएका हुन्।

काठमाडौं १० : कांग्रेसकै वर्चस्व

यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी १४,४४८ का साथ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका हिमेश केसीलाई २,६६२ मतको अन्तरले पराजित गरेका हुन् । यसअघिको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसकै राजन केसी निर्वाचित भएका थिए । 

यो पनि...

यी हुन् प्रतिनिधिसभामा विजयी सांसद (सूचीसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.