काठमाडौं । नेपाली भाषा हाम्रो राष्ट्रिय भाषा हो । तर, नेपालमै नेपाली विषयमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर देखिएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनअनुसार कक्षा १० का आधाभन्दा बढी विद्यार्थी नेपाली विषयमा न्यूनतम सिकाइ उपलब्धिसमेत हासिल गर्न नसक्ने अवस्थामा छन् । मधेश प्रदेशको अवस्था त झन् कमजोर छ ।
आखिर नेपाली विषयमै विद्यार्थी किन कमजोर हुँदैछन् त ?
नेपाली भाषा–साहित्यको अध्ययन कमजोर हुँदै गएको चर्चा भइरहेकै बेला शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनले त्यसलाई तथ्यांकमै देखाएको छ । केन्द्रले सन् २०२३ मा कक्षा १० अध्ययनरत विद्यार्थीको नेपाली, अंग्रेजीसहित चार विषयमा सिकाइ उपलब्धि परीक्षण गरेको थियो ।
७६ जिल्लाका १८ सय विद्यालयका ११ हजार विद्यार्थी सहभागी परीक्षणमा नेपाली विषयमा ५४ प्रतिशत विद्यार्थीले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसकेको देखियो । अर्थात्, नेपाली विषयमा आधाभन्दा बढी विद्यार्थीको सिकाइ अपेक्षाअनुसार छैन । छ तहमा वर्गीकरण गरिएको सिकाइ उपलब्धिमध्ये उच्चस्तरको उपलब्धि हासिल गर्ने विद्यार्थी भने जम्मा ६ प्रतिशत मात्रै छन् ।
नेपाली कमजोर देखिँदा अंग्रेजी विषयको सिकाइ उपलब्धि भने तुलनात्मक रूपमा राम्रो छ । परीक्षणमा करिब ७० प्रतिशत विद्यार्थीले अंग्रेजीमा न्यूनतम सिकाइ उपलब्धि हासिल गरेको केन्द्रको तथ्यांक छ । प्रदेशगत रूपमा हेर्दा नेपाली विषयमा मधेश प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका छन् ।
कक्षा १० का ६१ प्रतिशत विद्यार्थीले नेपालीमा न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसकेको अध्ययनले देखाएको छ । मधेशमा नेपाली धेरै विद्यार्थीको दोस्रो भाषा हुनुका साथै आर्थिक–सामाजिक अवस्था र दक्ष शिक्षकको अभावलाई पनि यसको एउटा कारण मानिएको छ ।
मधेशपछि सुदूरपश्चिम र कर्णाली प्रदेशका विद्यार्थीको नेपाली विषयको सिकाइ उपलब्धि कमजोर देखिएको छ । यो समस्या कक्षा १० मा मात्रै सीमित छैन । कक्षा ८ र कक्षा ३ का विद्यार्थीको सिकाइ परीक्षणमा पनि नेपाली विषय कठिन देखिएको केन्द्रको अध्ययनले देखाएको छ ।
पछिल्लो समय विद्यार्थीमा पठन संस्कृतिको कमी, कक्षाकोठामा पर्याप्त पढ्ने–लेख्ने अभ्यास नहुनु र सूचना प्रविधिको बढ्दो प्रयोगले पनि पठन तथा लेखन सीपमा असर पारिरहेको शिक्षक तथा विज्ञहरूको बुझाइ छ । विद्यालयको प्रकारअनुसार पनि नेपाली विषयमा फरक अवस्था देखिन्छ ।
विशेषगरी अंग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयका विद्यार्थीका लागि नेपाली विषय कठिन बन्ने गरेको पाइन्छ । नेपाली विषयमा देखिएको यो कमजोरी केवल एउटा विषयको सिकाइ उपलब्धिको प्रश्न मात्रै होइन । भाषा कमजोर हुँदा विद्यार्थीको पढ्ने, बुझ्ने, लेख्ने र आफ्ना विचार अभिव्यक्त गर्ने क्षमतामै असर पर्न सक्छ ।
त्यसैले नेपाली विषयमा विद्यार्थीको सिकाइ सुधारका लागि लक्षित कार्यक्रम, पर्याप्त अभ्यास र दक्ष शिक्षकको व्यवस्थापन आवश्यक रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सुझाव छ । राष्ट्रिय भाषा नेपालीप्रतिको विद्यार्थीको पकड नै कमजोर देखिनुले विद्यालय शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
अब नेपाली विषयलाई पाठ्यक्रममा मात्रै सीमित राख्ने कि व्यवहारिक पढाइ, लेखाइ र पठन संस्कृतिसँग जोड्ने भन्ने चुनौती सरकार र विद्यालय दुवैसामु छ ।