कक्षा १२ को नतिजा आएको डेढ महिनासम्म पनि खुलेन चिकित्सा शिक्षा प्रवेश परीक्षा आवेदन

हजारौं विद्यार्थी अन्योलमा
आयोगमा पदाधिकारी नियुक्तिमा ढिलाइले शैक्षिक क्यालेन्डर नै प्रभावित
श्रावण १८, २०८३ |नारायण किलम्बू
कक्षा १२ को नतिजा आएको डेढ महिनासम्म पनि खुलेन चिकित्सा शिक्षा प्रवेश परीक्षा आवेदन

काठमाडौं । देशका विभिन्न विश्वविद्यालयहरुले शैक्षिक क्यालेन्डरअनुसार स्नातक तहको भर्ना प्रक्रिया सुरु गरेको तीन साता भइसक्दा पनि चिकित्सा शिक्षामा भने ढिलाइ भएको छ । 

चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगले शैक्षिक क्यालेन्डरअनुसार साउनको सुरुमै एकीकृत प्रवेश परीक्षाको सूचना प्रकाशित गर्ने भने पनि अहिलेसम्म प्रक्रिया नै अघि बढ्न सकेको छैन । जसले गर्दा एमबीबीएस, बीडीएस, नर्सिङसहित १६ वटा विधामा अध्ययनको तयारीमा रहेका हजारौ विद्यार्थी अन्योलमा परेका छन् । 

आखिर किन चिकित्सा शिक्षा प्रवेश परीक्षाको कार्यतालिका प्रकाशनमा ढिलाइ भएको हो ?

कक्षा १२ को नतिजा प्रकाशित भएको डेढ महिना भइसकेको छ । अधिकांश विश्वविद्यालयहरुले विभिन्न संकायमा स्नातक तहको भर्ना प्रक्रिया सुरु गरेर प्रवेश परीक्षासमेत लिइसकेका छन् । तर, चिकित्सा शिक्षातर्फ भन्ने अझै एकीकृत प्रवेश परीक्षाकै प्रक्रिया सुरु हुन सकेको छैन । 

चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेनडरअनुसार साउन सुरुमा एकीकृत प्रवेश परीक्षाका लागि प्रक्रिया सुरु गरी सूचना प्रकाशित गरिसक्नुपर्ने थियो । तर, आयोगमा लामो समय पदाधिकारी रिक्त र नियुक्ति प्रक्रियामा ढिलाइ भएकै कारण प्रवेश परीक्षाको तालिका सार्वजनिक गर्न पनि ढिलाइ भएको आयोगका पदाधिकारीहरुको भनाइ छ ।

त्रिवि, काठमाडौं, पूर्वाञ्चल र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ९३ वटा शिक्षण संस्थामा चिकित्सा शिक्षा पठनपाठन हुन्छ । तिनमा गत वर्ष १६ वटा विधामा ९ हजार २ सय ७५ सिटका लागि ५८ हजार विद्यार्थी एकीकृत प्रवेश परीक्षामा सहभागी भएका थिए । 

१२ कक्षामा धरै विद्यार्थी पास भएकाले यसपटक प्रवेश परीक्षामा सहभागी हुनेको संख्या अझ थपिने अनुमान आयोगको छ । कक्षा १२ को नतिजा ३५ दिनमै प्रकाशन गरे पनि प्रवेश परीक्षामा ढिलाइ भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् । उनीहरुले छिटो भर्नाका लागि प्रवेश परीक्षाको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले पनि निर्देशकहरु नियुक्त भएलगत्तै छिटै भर्नाका लागि प्रवेश परीक्षाको प्रक्रिया सुरु गरिने जनाएको छ । विश्वविद्यालयहरुको नियामक निकाय विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयहरुको एकीकृत शैक्षिक क्यालेन्डर जारी गरिसकेको छ । 

जसमा साउनमा भर्ना प्रक्रिया र भदौंबाटै पठनपाठन सुरु गर्नुपर्ने तालिका छ । तर, चिकित्सा शिक्षातर्फ ढिलाइ भएकाले ताकेता दिइरहेको आयोगको भनाइ छ । चिकित्सा शिक्षाको भर्ना प्रक्रियामा ढिलाइ हुँदा विगतमा धेरै विद्यार्थी विदेशिएको भन्दै सरकारले छिटो भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएको थियो ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।