भत्ता विवाद चर्कियो, इन्टर्न चिकित्सकले दिए आमरण अनसनको चेतावनी

श्रावण १७, २०८३ |नारायण किलम्बू
भत्ता विवाद चर्कियो, इन्टर्न चिकित्सकले दिए आमरण अनसनको चेतावनी

काठमाडौं । एमबीबीएस र बीडीएस कार्यक्रमको पाठ्यक्रममा अभिन्न अंग मानिन्छ इन्टर्नसिप । 

उनीहरु स्वास्थ्य सेवामा पनि संलग्न हुन्छन् । तर, निर्वाह भत्तामा श्रम शोषण गरिएको भन्दै इन्टर्न चिकित्सकहरु आन्दोलित भएका छन् । शिक्षा मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार निर्वाह भत्ता उपलब्ध गराउन माग गर्दै चिकित्सकहरुले आमरण अनसन बस्ने चेतावनीसमेत दिएका छन् ।

चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुले अन्तिम एक वर्ष अस्पतालमा इन्टर्नसिपका क्रममा स्वास्थ्य सेवामा संग्लन हुनुपर्ने हुन्छ । त्यसक्रममा उनीहरुले सरकारी शिक्षण संस्थामा मेडिकल अधिकृतको आधा अर्थात् २३ हजार र निजीमा १० हजार रुपैयाँमात्र निर्वाह भत्ता पाउँदै आएका छन् । 

यस्तो न्यून निर्वाह भत्ता दिएर श्रम शोषण गरिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । शिक्षा मन्त्रालयको कार्यदलले गरेको सिफारिस अनुसार एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न सबै चिकित्सकहरूलाई सरकारीसरह नै ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

निजी मेडिकल तथा डेन्टल कलेजहरुमा एमबीबीएस र बीडीएस अध्ययनरत १७ सयको हाराहारीमा विद्यार्थी छन् । निजी मेडिकल सञ्चालकहरु भने विद्यार्थीले माग गरे अनुसार मेडिकल अधिकृतको तलबको ५० प्रतिशत कुनै पनि हालतमा उपलब्ध गराउन नसक्ने बताएको छ ।

सरकारले गठन गरेको कार्यदलले स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा एकरुपता कायम गर्न इन्टर्न चिकित्सकहरुलाई पनि निर्वाह भत्तावापत आठौं तहका मेडिकल अधिकृतको तलवको ५० प्रतिशत उपलब्ध गराउन सिफारिस गरेको थियो । तर, कार्यान्वयन हुन नसकेको कार्यदल सदस्य एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन अभिमन्यू झा बताउनु हुन्छ ।

चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगका सदस्य सचिव वसन्त कोइरालाले भने आन्दोलनरत इन्टर्न चिकित्सकहरुले राखेका मागका विषय छलफलको क्रममा रहेको बताउनुभयो । यसका लागि चिकित्सा शिक्षा नियमावली नै संशोधन गर्नुपर्ने उहाँको भनाइ छ । आयोगले आन्दोलनरत चिकित्सकहरुलाई सोमबार छलफलका लागि बोलाएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।