
नवलपरासी । विद्यालयमा पाठ्यपुस्तकसँगै व्यावहारिक शिक्षाको ज्ञान बढाउन पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले आविष्कार र उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।
यसले विद्यार्थीहरूमा नयाँ नयाँ प्रविधिको ज्ञान र उत्पादनमा रुचि बढाएको छ । कावासोती नगरपालिका- १७ मा रहेको त्रिभुवन बाल माविको सभाहलमा प्रवेश गर्ने बित्तिकै राधा नामको सुन्दर रोबोर्टले तपाईँलाई अभिभावन र स्वागत गर्दछ ।
यो रोबोर्ट विद्यालयकै विद्यार्थी र शिक्षक मिलेर निर्माण गरेका हुन् । यसले विद्यार्थीमाझ नयाँ प्रविधितर्फ विद्यार्थीको आकर्षणलाई झल्काउँछ । कावासोती नगरपालिका १६ स्थित जनता माविका विद्यार्थीहरूले विद्यालयमा नै कागज उत्पादन गरिरहेका छन् ।
पुराना कापी, किताब सङ्कलन गरेर, कागजलाई भिजाउने र निश्चित आकारको फर्मामा राखेर घाममा सुकाउने गर्दछन् । यसले पुराना कागजको पुन: प्रयोग, शैक्षिक सामग्री निर्माण र सजावटका सामान बनाउन सकिएको छ । नेपाल राष्ट्रिय मावि कावासोती ११ का विद्यार्थीले जैविक फोहोरबाट बायोग्यास उत्पादन गरेका छन् ।
दिवा खाजामा प्रयोग हुने तरकारी केलाउँदा निस्केको फोहोर तथा अन्य जैविक फोहोरको व्यवस्थापन गरेर उत्पादन हुने बायोग्यास दिवा खाजा पकाउन प्रयोग हुन्छ । विद्यालयमा पाठ्यपुस्तक अध्ययन मात्र नभएर प्रयोगात्मक काम पनि अगाडि बढाउदा विद्यार्थीहरूमा आविष्कार र नयाँ कामको लागि हौसला बढेको विद्यार्थी बताउँछन् ।
गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा आविष्कार र उत्पादनको जग मेरो विद्यालय कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रमले विद्यार्थीहरूमा प्रयोगात्मक सीप, ज्ञान र नयाँ काम गर्ने उत्साह बढाएको छ ।
कार्यक्रमलाई निरन्तरता दिने हो भने हरेक विद्यालयले आफ्नै स्रोतसाधनले प्रयोगात्मक सीपसँगै आम्दानी पनि गर्न सक्ने विश्वास लिइएको छ । शिव माविले विद्यार्थीको पिसाब सङ्कलन गरेर जैविक मल, चण्डेश्वरी माविले इको पोन्ड निर्माण गरेर माछापालन र दिवा खाजामा प्रयोग गर्ने तयारी गरेको छ ।
सरस्वती मावि गोछडाले गड्यौँला मल उत्पादन गरेर बिक्री गर्ने तयारीमा छ । नगरभित्रका २३ वटा सामुदायिक विद्यालयले एक एक वटा उत्पादनमुखी काम गरिरहेका छन् । यस्ता क्रियाकलापले सामुदायिक विद्यालयमा अध्ययनसँगै सीपमूलक काममा विद्यार्थीलाई प्रयोगात्मक ज्ञान बढेको छ।