काठमाडौं । इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको चाप भएपछि यस वर्ष उपलब्ध सिटभन्दा तेब्बर बढीले प्रवेश परीक्षा दिएका छन् ।
यस पटक ४ हजार ३ सय सिटका लागि १२ हजार ६ सयले प्रवेश परीक्षा दिएका हुन् । विदेशमा अध्ययनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुमा रोजगारीको अवसर पाउने भएकाले विद्यार्थीहरुको पहिलो रोजाइ त्रिविअन्तर्गतका आंगिक क्याम्पस हुने गरेको छ ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत स्नातक तहको प्रवेश परीक्षामा यसवर्ष उपलब्ध सिट संख्याभन्दा तेब्बर विद्यार्थी सहभागी भएका छन् । त्रिविका ५ वटा आंगिक क्याम्पस र १० वटा सम्वन्धन प्राप्त गरी १५ वटा शिक्षण संस्थामा ४ हजार ३ सय सिट छन् । तर, यसपटक १२ हजार ६ सयभन्दा बढीले प्रवेश परीक्षा दिएका हुन् ।
यसपटक अघिल्लो वर्षभन्दा १५ सय बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका हुन् । इन्जिनियर संकायको स्नातक तहतर्फ सिभिल आर्किटेक्चर, मेकानिकल कम्युटरलगायत १२ विधामध्ये सबैभन्दा बढी विद्यार्थीको रुचि कम्युटर इन्जिनियरिङमा रहेको छ ।
इन्जिनियरिङ विषय पढ्नका लागि विद्यार्थीले प्रवेश परीक्षामा ४० प्रतिशत अंक ल्याउनै पर्छ । १५ वटा शिक्षण संस्था भए पनि धेरै विद्यार्थीको पहिलो रोजाइ पुल्चोक, थापाथलीसहित आंगिक क्याम्पस नै हुने गर्छन् । किन आकर्षण छ त विद्यार्थीहरुमा इन्जिनियरिङ शिक्षाप्रति ?
गुणस्तरीय भएकै कारण त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानले विदेशमासमेत प्रतिष्ठा कमाएको छ । त्यसैले पनि विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई विश्वका १ सय विश्वविद्यालयहरुमा विद्यार्थी तथा शिक्षक एक्सचेञ्ज कार्यक्रम र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरु इन्टरनसिपसँगै काम गर्ने अवसर मिलाइएको संस्थानको दाबी छ ।
त्यसैले पनि विद्यार्थीको आकर्षण र चाप बढेको संस्थानको भनाइ छ । प्रवेश परीक्षामा ढिलाइकै कारण धेरै विद्यार्थी विदेशिएको भन्ने गुनासापछि संस्थानले यसपालि कक्षा १२ को नतिजा आएलगत्तै भर्ना प्रक्रिया अघि बढाएको हो । पठनपाठन भने असोजबाट सञ्चालन हुने संस्थानले जनाएको छ ।