
काठमाडौं । सरकारले विद्यालय शिक्षाको मूल्यांकन प्रणाली सुधार गर्न लेटरग्रेडिङ सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ ।
परीक्षालाई लिएर विद्यार्थीमा सिर्जना हुने मनोवैज्ञानिक त्रासको वातावरण अन्त्य गर्ने गरी मूल्यांकन प्रणालीलाई एकरुपता बनाउन शिक्षा मन्त्रालयले निर्देशिका ल्याएको हो ।
अहिलेसम्म कक्षा ९ सम्म विद्यालयहरुले आफूखुसी ग्रेडिङ गर्दै आएका थिए भने कक्षा १० र १२ मा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडिङ प्रणाली कार्यान्वयन गरेको थियो । नयाँ निर्देशिकाअनुसार अब सबै तहमा एकै खालको ग्रेडिङ प्रणाली लागू गरिनेछ ।
निर्देशिकाअनुसार कक्षा ५ सम्म परीक्षाका माध्यमबाट मूल्यांकन गर्ने व्यवस्था हटाइएको छ । यस्तै विद्यालय तहमा साठी मिनेटको एक घण्टी हुने व्यवस्था गरिएको छ भने विद्यालयले वार्षिक कार्यघण्टा नघट्ने गरी समय व्यवस्थापन गर्नेसक्ने र अतिरिक्त समयमा भएका सिकाइसम्बन्धी क्रियाकलापलाई समेत वार्षिक कार्यघण्टामा गणना गर्न सक्नेछन् ।
यसबाट सिकाइ उपलब्धि सुधार हुने अपेक्षा सरोकारवाला शिक्षकहरुको छ । विद्यार्थीहरु परीक्षामा सहभागी हुन ७५ प्रतिशत हाजिरी हुनुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार विद्यार्थीको मूल्यांकन ३५ अंकदेखि सयसम्म गरी ८ वर्गमा विभाजन गरिएको छ ।
निर्देशिकाले मूल्यांकनमा वैज्ञानिक प्रणालीसँगै सिकाइ सुधारका लागि विद्यालय र शिक्षकको भूमिकामा पनि जोड दिएको छ ।