सर्टिफिकेट मात्र होइन, सीप र रोजगारी पनि दिँदै धादिङको विद्यालय

असार ३१, २०८३ |पोषनाथ अधिकारी
सर्टिफिकेट मात्र होइन, सीप र रोजगारी पनि दिँदै धादिङको विद्यालय

काठमाडौं । सामान्यतया कुनै एउटा विद्यालयमा प्रवेश गर्दा के भेटिन्छ ? 

कक्षामा शिक्षकले पढाइरहेका, विद्यार्थी पढिरहेका । खाली समय भए खेल मैदानमा खेल्दै या त्यस्तै त्यस्तै तर धादिङको धुनिबेंसीमा रहेको त्रिकुटेश्वरी माध्यमिक विद्यालय जहाँ पुग्दा लाग्छ यो त विद्यालय होइन विद्युतीय सामाग्री उत्पादन गर्ने कारखाना हो र प्राविधिक कर्मचारी धमाधम उत्पादनको काम गरिरहेका छन् ।

धादिङको धुनिबेंसी वडा नम्बर ५ मा रहेको त्रिकुटेश्वरी माध्यमिक विद्यालय परिसरमा पुग्दा लाग्छ यो विद्यालय होइन विद्युत्‌का सामाग्री उत्पादन केन्द्र हो । केही वर्ष अघिसम्म सामान्य विषय अध्यापन हुँदै आएको यस विद्यालयलाई एउटा प्राविधिक माध्यमिक विद्यालयमा परिणत गरेपछि अहिले यो विद्यालयको तौरतरिकानै फेरिएको छ ।

विद्युत्‌का विज्ञका रुपमा जर्मनीमा रहेका स्थानीय पवन ढकालले स्थापना गरेको शेषकान्त फाउन्डेसनको सहयोगमा एलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययनका लागि आवश्यक पर्ने उपकरणको व्यवस्थापन र जनशक्ति उपलब्ध गराएपछि प्राविधिक धारतर्फ कक्षा ९ देखि कक्षा १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा अध्यापन सुरु गरिएको हो । 

प्रविधिक विषय त धेरै स्थानमा पढाइ हुन्छ नै तर सुविधा सम्पन्न विज्ञान तथा इलेक्ट्रिकल प्रयोगशालासहित कक्षा सुरु भएको दोस्राे वर्षमा नै कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले विद्युत्‌का बल्बहरू विभिन्न थरिका लाइटहरू, कन्सिल लाइटहरू एसेम्बल गरेर बजारमा पठाउन थालेका छन् ।

विभिन्न जिल्लाबाट समेत आएका गरी ८० जना विद्यार्थी यहाँ प्राविधिक धारमा अध्ययन गरिरहेका छन् । पर्याप्त उपकरणसहितको ल्याब भएका कारण पनि विद्यार्थीहरु ल्याबमा नै रम्ने गरेका छन् । बिदाको दिनमा समेत विद्यार्थीहरु विद्यालयमा आएर प्रयोगात्मक कक्षामा रम्ने गरेको शिक्षकहरु सुनाउनु हुन्छ । 

यसले विद्यालयले सामान्य शिक्षा मात्रभन्दा पनि देशको लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको अनुभूति उनीहरुमा छ । आधुनिक र व्यवस्थित ल्याब रहेको यहाँ अध्ययन गर्न आएका विद्यार्थी पनि निकै उत्साही छन् । आफूले यति छिट्टै यसरी सामाग्री उत्पादन गर्न सक्छौँ भन्ने नसोचेका उनीहरुका हातमा सर्टिफिकेटसँगै सीप लिएर स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।

अहिले यस विद्यालयलाई सबल बनाउन शेषकान्त फाउन्डेसनसँंगै धुनिबेंसी नगरपालिका पनि लागि परेको छ । विद्यार्थीले उत्पादन गरेका बिजुली बल्बलगायतका सामाग्री स्थानीय बजारमा बिक्री वितरण हुने गरेको छ । बिक्रीबाट भएको आम्दानी तिनै विद्यार्थीको वृत्तिविकासमा खर्चिने गरी विद्यालयले व्यवस्था मिलाएको छ । 

विद्यालयले ठूला कम्पनीसँगको सहकार्यमा आफ्ना विद्यार्थीले उत्पादन गरेको सामाग्री ठूला सहरमा समेत पठाउने योजना बनाएको छ । शैक्षिक बेरोजगारको सख्या दिनानुदिन बढिरहेको र पर्याप्त प्रयोगात्मक कक्षा नहुँदा देशभरका प्राविधिक शिक्षामा आकर्षण घटिरहेको बेला त्रिकुटेश्वरीले दिएको यो शिक्षा र सफलता उपयुक्त र प्रयाप्त अध्ययन सामाग्रीसहित प्रयोगात्मक शिक्षामा जोड गर्न सके स्वदेशमा दक्ष जनशक्ति र रोजगारीको सिर्जना गर्न सकिन्छ भन्ने प्रष्ट बनाउँछ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।