
दाङ । दाङको लमहीमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने आधारभूत तहदेखि स्नातक तहसम्मका विद्यार्थीको पठनपाठन निःशुल्क बनाइएको छ ।
लमही नगरपालिका वडा नं ७ ले शिक्षामा लगानी गरेपछि विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग पुगेको छ भने बीचमै पढाइ छाड्ने समस्या समाधान हुन थालेको छ । दाङको लमही नगरपालिका ७ मा अधिकांस न्यून आयस्तर भएको जनजाती समुदायको बस्ती छ ।
न्यून आयस्तर भएकै कारण उच्च शिक्षा हासिल गर्नेको संख्या पनि न्यून छ भने बिचमै पढाइ छाड्नेको दर पनि उच्च थियो । यही अवस्थालाई बुझेर सामुदायिक विद्यालय, क्याम्पस तथा प्राविधिक धारका विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा लाग्ने शुल्क स्थानीय सरकारले व्यहोर्न थालेपछि विद्यार्थीहरुलाई ठुलो राहत मिलेको छ ।
क्याम्पस सञ्चालनका लागि दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले अध्ययनरत विद्यार्थीबाट मासिक तथा भर्ना शुल्क उठाउँदै आएको छ । त्यही शुल्क बुझाउन नसक्दा विद्यार्थीहरुले बिचमै पढाइ छाड्नु पर्ने अवस्था थियो । तर, लमही नगरपालिका वडा नं ७ ले आफ्नो वार्षिक बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा लाग्दै आएको शुल्क भुक्तानी गर्न थालेपछि यसबाट आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीले सहज रूपमा अध्ययन गर्ने अवसर पाएका छन् ।
पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय सरकारले छात्रवृत्ति वितरण गर्दै आएपछि बिचमै पढाइ छाड्ने दरमा कमी आएको र यसले विद्यार्थीको सिकाइ अभिवृद्धिसँगै हौसला बढाएको क्याम्पस प्रशासनको भनाइ छ । भौतिक पूर्वाधारमा मात्रै लगानी नगरी स्थानीय सरकारले सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै शिक्षामा लगानी बढाएका छन् ।
वडाभित्र बसोबास गर्ने कुनै पनि नागरिकले सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययन गर्दा लाग्ने शुल्क वडा कार्यालयले नै भुक्तानी गर्दै आएको छ । यसबाट सबै विद्यार्थी लाभान्वित भएको र सकारात्मक उपलब्धि देखिन थालेको छ भने लमही नगरपालिका वडा नं ७ को सकारात्मक कामको सिको अहिले अन्य वडाहरुले पनि गरीरहेका छन् ।
घरको आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनका लागि समस्या भोगेका विद्यार्थीका लागि लमही नगरपालिका ७ को शिक्षामा भएको नमुना प्रयासका कारण ७७ जनाले सामुदायीक क्याम्पसमा शिक्षा तथा व्यवस्थापन संकायमा पढीरहेका छन् भने ११ जनाले सवओभरसियर १० जनाले एग्रीकल्चर, ५ जनाले आर्किटेक इन्जिनियरिङ पढिरहेका छन् ।
स्थानीय सरकारअन्तर्गत वडा तहबाट शिक्षा क्षेत्रमा गरिएको यो लगानीको असल अभ्यासले सिकाइको आधार बन्न सक्ने देखिएको छ ।