जोस बटलरले रचे फेरि इतिहास

श्रावण २१, २०८३ |कान्तिपुर टीभी संवाददाता
जोस बटलरले रचे फेरि इतिहास

काठमाडौं । इङ्ल्यान्डका अक्रमक टी-२० ब्याटर जोस बटलरले फेरि एकपटक इतिहास रचेका छन् । उनी टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिताअन्तर्गत गए राति सम्पन्न खेलमा म्यानचेस्टर सुपर जायन्ट्सले वेल्स फायरमाथि नौ विकेटको शानदार जित हात हात पार्दा आक्रमक अर्धशतक प्रहार गरेका बटलरले काइरोन पोलार्डलाई पछि पार्दै टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

द हन्ड्रेड क्रिकेट प्रतियोगितामा म्यानचेस्टर सुपर जायन्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै वेल्स फायरमाथि नौ विकेटको शानदार जित हात पार्दा जोस बटलरले टी-२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान आफ्नो बनाएका छन् । ओल्ड ट्राफोर्डमा बटलरले २० बलमा ५१ रनको अर्धशतकिय इनिङ्स खेल्दै टी-२० क्रिकेटमा १४ हजार ८ सय ३३ रन पूरा गरे । यससँगै वेस्ट इन्डिजका काइरोन पोलार्डको नाममा रहेको १४ हजार ८ सय ३ रनको कीर्तिमान तोडिएको छ । म्यानचेस्टर सुपर जायन्ट्सका कप्तान बटलरले ५ सय २२ टी-२० खेलमा यो सफलता हात पारेका हुन् ।

सन् २०२२ मा वेस्ट इन्डिजका क्रिस गेलले ४ सय ६३ खेलमा १४ हजार ५ सय ६२ रनसहित आफ्नो करियर टुंग्याएपछि नयाँ कीर्तिमान कसले बनाउने भन्ने प्रतिस्पर्धा सुरु भएको थियो । त्यसपछि पोलार्डले यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । पोलार्डले ७ सय ४६ खेलमा १४ हजार ८ सय ३ रन बनाएका छन् । तर अन्ततः बटलरले निरन्तरता र उत्कृष्ट प्रदर्शनका आधारमा सबैलाई पछि पार्दै शीर्ष स्थान कब्जा गरेका हुन् । टी-२० आईको एक सय ६० खेलमा बटलरले चार हजार २ यस १२ रन बनाएका छन् । यस सूचीमा पनि उनी पाकिस्तानका बाबर आजम ४ हजार ५ सय ९६ रन र भारतका रोहित शर्मा ४ हजार २ सय ३१ रन पछि तेस्रो स्थानमा छन् । रोहितले टी-२० आई क्रिकेटबाट सन्यास लिइसकेका छन् ।

२०११ मा टी-२० आई डेब्यू गरेका बटलर सुरुवातमा तल्लो क्रममा ब्याटिङ गर्ने खेलाडी हुन् ।

सुरुमा फिनिसरका रूपमा चिनिएका बटलरले ओपनिङमा अवसर पाएपछि भने आफूलाई विश्वकै आक्रामक हृवाइट बल ब्यारका रुपमा स्थापित गरेका छन् । पावरप्लेमा उनको औसत ४३ छ भने डेथ ओभरहरूमा उनको स्ट्राइक रेट एक सय ८४ पुग्छ ।

अफ साइडमा प्रहार गर्ने र बललाई साइटस्क्रिनतर्फ पठाउने, उनको ब्याटिङ शैली सरल तर प्रभावकारी छ । बल प्रहार गर्दा शरीरको सन्तुलन र सानदार रिस्ट वर्कले उनको ब्याटिङ शैलीलाई निकै आकर्षक बनाउछ ।

बटलरको सबैभन्दा ठूलो विशेषता भनेको दबाबमा पनि शान्त रहने क्षमता हो । विश्वभर विभिन्न लिग र अन्तर्राष्ट्रिय खेल खेलेका उनले कठिन परिस्थितिमा पनि लगातार राम्रो प्रदर्शन गरेका छन् । कुनै पनि प्रकारका बलिङविरुद्ध उनको प्रदर्शन लगभग समान छ । जसले उनलाई बहुआयामिक ब्याट्सम्यान बनाएको हो ।

हाल ३५ वर्षका बटलर आगामी सेप्टेम्बर ८ मा ३६ वर्ष पुग्नेछन् । सन् २०२८ को टी-२० विश्वकपसम्म उनी ३८ वर्षका हुनेछन् । उमेर बढ्दै गए पनि उनको प्रदर्शनमा गिरावटको खास संकेत देखिएको छैन । त्यसैले आगामी विश्वकपमा पनि उनी इङ्ल्यान्डका मुख्य खेलाडीका रूपमा रहने अपेक्षा गरिएको छ ।

यस वर्षको विश्वकपमा भने उनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । तर सन् २०२२ मा उपाधि जिताएको अनुभव र हालको उत्कृष्ट फर्मलाई हेर्दा उनलाई फेरि एकपटक ट्रफी उचाल्न सक्ने खेलाडीका रूपमा हेरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.