जनकपुरको सेन्ट जेभियर स्कुलमा शिक्षक-विद्यार्थी हातपात : सीसीटीभी भिडियोपछि उठ्यो ठूलो बहस

असार २, २०८३ |नारायण किलम्बू
जनकपुरको सेन्ट जेभियर स्कुलमा शिक्षक-विद्यार्थी हातपात : सीसीटीभी भिडियोपछि उठ्यो ठूलो बहस

काठमाडौं । जनकपुरको सेन्टजेभियर हाइस्कुलमा केही दिनअघि शिक्षक र विद्यार्थीबीच हातपातको घटनाको सीसीटीभी भिडियो सार्वजनिक भएपछि अहिले धेरै प्रश्नहरु जन्माएको छ । 

भिडियोमा शिक्षिकाले हात उठाउन खोजेको र विद्यार्थीले पनि शिक्षिकामाथि हातपात गरेको देखिन्छ । यस खालको घटना हुने स्थिति कसरी उत्पन्न भयो ? विद्यार्थीमाथि शिक्षकले कस्तो व्यवहार गर्ने र विद्यार्थीको त्यस खालको मनोवृत्ति कसरी विकास भयो ? 

सीसीटीभी सार्वजनिक गरिँदा विद्यालयका अरु विद्यार्थीमा कस्तो असर गर्छ जस्ता थुप्रै प्रश्न सिर्जना भएका छन् । यो घटनाको मनोसामाजिक पक्षलाई लिएर आज हामीले शिक्षा क्षेत्रका जानकार र मनोपरामर्शदातासँग कुरा गरेका छौं ।

सामाजिक सञ्जालमा सार्वजनिक यो भिडियो हो जनकपुरको सेन्ट जेभियर हाइस्कुलको । सीसीटीभी फुटेजअनुसार यो घटना जेठ २६ गते २ बजेर १९ मिनेट जाँदाको हो । भिडियोमा सुरुमा शिक्षिकाले एक विद्यार्थीलाई उभ्याएर केही भनेजस्तो देखिन्छ र हात ताकेजस्तो देखिन्छ । लगत्तै ती विद्यार्थी शिक्षिकामाथि जाइलाग्छन् र अर्का विद्यार्थीले छुट्याउने प्रयास गर्छन् । 

भिडियोलाई नियाल्दा कक्षा कोठाको एउटा कुनामा केही विद्यार्थी कान समातेर उभिएका देखिन्छन् । तर, यस घटनाले थुप्रै प्रश्न र बहस सिर्जना गरेका छन् । विद्यालयमा विद्यार्थीमाथि गरिने व्यवहार, शिक्षण सिकाइको तरिका कस्तो हुने ? विद्यार्थी एउटा शिक्षकमाथि जाइलाग्ने स्थिति कसरी सिर्जना भयो भन्ने प्रश्न उठेको छ । 

होमवर्क नगरेको नाममा होस् वा अन्य बहानामा शिक्षकले विद्यार्थीलाई पिट्नु वा सजाय दिनु गलत हो भने विद्यार्थी शिक्षकमाथि जाइलाग्नु झन ठूलो गल्ती रहेको निजी विद्यालय सञ्चालकहरु बताउँछन् । हामीले यो घटनाबारे मनोपरामर्शदातासँग पनि सोधेका छौं । 

उनीहरुका अनुसार विद्यार्थीलाई शारीरिक वा मनोवैज्ञानिक रुपमा दबाब दिँदै पढाउँदा विद्यार्थीले ध्यान नदिनेमात्र होइन सिक्न खोज्दैनन्, जसले गर्दा शिक्षकले पढाएको उपलब्धिविहीन त हुन्छ नै विद्यार्थीमा शिक्षकप्रति उल्टो रिस आवेग सृजना हुने र मनोवैज्ञानिक रुपमै असर पर्न बताउँछन् ।

भिडियो हेर्दा कक्षाकोठाको एक कुनामा केही विद्यार्थीलाई कान समात्न लगाएर उभ्याइएको देखिन्छ । यसरी कक्षाकोठामा सजाय दिँदा नकारात्मक बढ्न गइ विद्यालय छोड्ने परस्थितिसम्म उत्पन्न हुने शिक्षाका जानकार बताउँछन् । शिक्षाका अधिकारीहरु विद्यार्थीलाई सजाय दिएर अनुशासित बनाउन नसक्ने भन्दै कुटपिटको घट्ना हुनु न्यायोचित नभएको र कारबाही योग्य भएको बताउँछन् ।

विद्यार्थीलाई निगरानी गर्न कक्षाकोठामा सीसीटीभी राखिए पनि यस्ता घट्नाको भिडियो बाहिर ल्याउनु गलत रहेको मनोविद्हरुको भनाइ छ । यसले विद्यालय शिक्षक र विद्यार्थीप्रति नै नकारात्मकता उत्पन्न हुने उनीहरु बताउँछन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।