नेपाली विषयमै विद्यार्थीहरू कमजोर

जेष्ठ ५, २०८३ |नारायण किलम्बू
नेपाली विषयमै विद्यार्थीहरू कमजोर

काठमाडौं । धेरै नागरिकले बोल्ने र बुझ्ने गरी सम्पर्क भाषाको रूपमा स्थापित नेपालीमै देशका अधिकांश विद्यार्थी कमजोर रहेको पाइएको छ । 

शिक्षा मन्त्रालयको एक अध्ययनअनुसार ९१ प्रतिशत विद्यार्थी पाठ्यक्रमले निर्दिष्ट गरेअनुसार एक मिनेटमा ४५ शब्द शुद्ध उच्चारण गर्न असक्षम देखिएका छन् । अर्कोतर्फ १० कक्षासम्म आइपुग्दा उनीहरूको नेपाली विषयको सिकाइ उपलब्धि नै खस्किएको पाइएको छ । 

चिन्ताको विषय त सिकाइ उपलब्धिमा मातृभाषा नेपाली नरहेका विद्यार्थी तुलनात्मक रूपमा थप पछि परेका छन् । सरकारले गरेको एक अध्ययनमा अधिकांश विद्यार्थी नेपाली विषयमा कमजोर रहेको पाइएको छ । ३३ जिल्लाका ५ सय ७९ विद्यालयका ७ हजार ५ सय ३१ जनामा गरिएको पठन सीप मूल्यांकनमा ९१ प्रतिशत विद्यार्थीले नेपाली शब्द शुद्धसँग उच्चारण गर्न नसकेको र व्याकरण मिलाउन नजानेको पाइएको हो ।

हुन त भाषिक अवरोध वा लवजले पनि यहाँ प्रभाव पारेको हुनसक्छ । तथापि पाठ्यक्रमले निर्दिष्ट गरेबमोजिम ९ प्रतिशतले मात्र एक मिनेटमा ४५ शब्द शुद्ध उच्चारण गरेको शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको निष्कर्ष छ । यसले प्राथमिक भाषा नेपाली रहेका विद्यार्थीसमेत उच्चारणमा असफल भएको देखिन्छ ।

सरकारले कक्षा ३ का विद्यार्थीमा यो अध्ययन गरेको थियो । नेपाली भाषा र विषयमा विद्यार्थीको खस्कँदो स्तर, सिकाइसम्बन्धी राष्ट्रिय उपलब्धि मूल्यांकनमा पनि देखिन्छ । देशका ४४ हजार विद्यार्थीमा गरिएको परीक्षणमा कक्षा १० को नेपाली विषयमा आधाभन्दा बढी अर्थात् ५४ प्रतिशत विद्यार्थीको उपलब्धि खस्किएको पाइएको छ । 

अझ तीन वर्षअघि गरिएको परीक्षणभन्दा यसपालि उपलब्धि थप २ अंकले खस्किएको छ । उता अंग्रेजीमा भने यही ३ वर्षमा १५ अंकको सुधार छ । राष्ट्रिय औसत अंक गणितमा ५००, नेपालीमा ४९९, विज्ञानमा ५०५ र अंग्रेजीमा ५१५ मानेर प्रश्नावलीका आधारमा विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिएको थियो । 

जसमध्ये गणितमा ६०, विज्ञानमा ५१ र नेपालीमा ५४ प्रतिशत विद्यार्थी कमजोर देखिएका छन् । अंग्रेजीमा भने कमजोर विद्यार्थीको प्रतिशत ३० मात्र छ । अंग्रेजी भाषाको विश्वव्यापी माग अनि पछिल्लो समय अभिभावक र विद्यार्थीदेखि विद्यालयकै नेपाली भाषाप्रतिको उदासीनताका कारण यस्तो अवस्था आएको जानकार बताउँछन् ।

प्रायः पहाडी क्षेत्रका विद्यार्थीले नेपाली विषयमा राम्रो अंक ल्याएका छन् भने मधेश प्रदेशका विद्यार्थीको नतिजा कमजोर छ । यसले घरपरिवार तथा समाजमा नेपाली भाषा बोल्ने अभिभावकका बालबालिकाको नेपाली विषयमा पकड तुलनात्मकरूपमा राम्रो भएको तर मातृभाषा नेपाली नरहेका विद्यार्थी स्वतः कमजोर भएको देखिन्छ । 

यसले एकातिर भाषिक अवरोधले सिकाइ प्रभावित भएको तथ्य उजागर गरिरहँदा अर्कोतिर समग्रमा भाषिक समावेशिताको अवधारणालाई नै प्रश्न उठाइरहेको छ । नेपाली, धेरै नागरिकले बोल्ने र बुझ्ने भाषा पक्कै हो । र, यो सम्पर्क भाषाको रूपमा पनि स्थापित छ । 

तर, बहुसंख्यक नेपालीको मातृभाषा नेपाली होइन । करिब ५५ प्रतिशत नागरिकको मातृभाषा नेपाली होइन। यस्तोमा केही वर्ग र समुदाय सधैँ पछि परिरहने र अर्कोलाई संरचनागत लाभ दिइरहने प्रणालीको सुधारका लागि सरकारले के गर्न सक्छ ? विज्ञ के भन्छन् त ?

त्यसो त पछिल्लो समय नेपाली भाषा कमजोर हुँदै गएको निष्कर्ष भाषा आयोगकै पनि छ । त्यसैले अब नेपाली भाषाको प्रयोग शैक्षिक उपलब्धि र भाषिक समावेशितासँग समेत जोडेर हेर्न ढिलो गर्न हुँदैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।