२९ दिनमै एसईई नतिजा : गति बढ्यो, तर विश्वसनीयतामाथि उठ्यो प्रश्न

वैशाख २९, २०८३ |नारायण किलम्बू
२९ दिनमै एसईई नतिजा : गति बढ्यो, तर विश्वसनीयतामाथि उठ्यो प्रश्न

काठमाडौं । विगतमा तीन महिनासम्म लाग्ने माध्यमिक शिक्षा परीक्षा-एसईईको नतिजा यसपटक २९ दिनमै प्रकाशित गरिएको छ । 

नतिजा यसपटक छिटो प्रकाशित त भयो नै, उत्तीर्ण प्रतिशत पनि गत वर्षको तुलनामा झन्डै ५ प्रतिशतले बढेको छ । कसरी छिटो नतिजा प्रकाशन सम्भव भयो यसपटक ? ५२ वटा परीक्षण केन्द्रमा हुने गरेको उत्तरपुस्तिका परीक्षण यसपटक परीक्षा केन्द्रमै हुँदा कत्तिको गोपनीयता कायम भयो र नतिजाको विश्वसनीयता कत्तिको छ ?

राष्ट्रिय परीक्षा बोर्डको स्तरीकृत परीक्षा मापदण्डअनुसार कुन विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरिएको छ भनेर थाहा नपाउने गरी उत्तरपुस्तिका परीक्षण गर्नुपर्छ । गोपनीयता कायम गर्न परीक्षकले विद्यार्थीको उत्तरपुस्तिकामा कोडिङ-डिकोडिङ गरिन्छ । 

जसअनुसार विगतमा ५० भन्दाबढी परीक्षण केन्द्र कायम गरेर परीक्षण गर्ने गरिएको थियो । तर, यसपटक परीक्षा केन्द्रमै परीक्षण गरियो र सरकारको लक्ष्यअनुसार २९ दिनमै नतिजा प्रकाशन गरियो । तर, विज्ञहरू छिटो नतिजा निकाल्ने नाममा गोपनीयता कायम नगरी शिक्षकहरूले हतारमा उत्तरपुस्तिका परिक्षण गर्दा नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाउन सकिने बताउँछन् ।

उत्तरपुस्तिका परीक्षणअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षण केन्द्रले विषयगत शिक्षकलाई तालिम दिने गरिएको थियो । तर, सरकारले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएपछि त्यस्तो कुनै तालिम दिइएन । परीक्षा केन्द्रकै शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गर्नुपर्दा केन्द्राध्यक्ष र विषयगत शिक्षकहरूले सुरक्षा चुनौतीको अवस्था सामना गर्नुपरेको र उत्तरपुस्तिका परीक्षणसमेत खुकुलो हुँदा उर्त्तीर्ण प्रतिशतमा वृद्धि देखिएको शिक्षकहरू बताउँछन् ।

यसवर्ष ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् जुन अघिल्लो वर्षको तुलनामा ४ दशमलव १७ प्रतिशतले सुधार भएको परीक्षा नियन्त्रक परीक्षा नियन्त्रण कार्यालयको दाबी छ । त्यसो त विगतमा उत्तरपुस्तिका परीक्षणको चरणसम्मै पुग्न लामो प्रक्रिया पार गर्नुपर्थ्यो । 

परीक्षा सकिएपछि उत्तरपुस्तिका नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा लैजाने र त्यसपछि जिल्ला शिक्षा विकास समन्वय इकाईले सरकारले तोकेको परीक्षण केन्द्रमा पुर्याउने गरिन्थ्यो । उत्तरपुस्तिका इन्ट्री गरेपछि विषयगत शिक्षकहरुको रोष्टर तयार गरेर शिक्षकहरुलाई अभिमुखिकरण तालिम दिएपछि बल्ल परीक्षण सुरु हुन्थ्यो । 

विद्यालय सञ्चालन हुने भएकाले शिक्षकहरूले विहान बेलुका समय मिलाएर उत्तरपुस्तिका परीक्षणमा एक महिना लाग्ने गर्थ्यो । त्यसपछि परिक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीको उत्तरपुस्तिका कोडिङ डिकोडिङ, इन्ट्रि, रूजुलगायत प्रक्रिया पूरा गर्दा करिब ३ महिना लाग्ने गर्थ्यौ । 

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा २९ दिनमै ३५ लाख उत्तरपुस्तिका परीक्षण गरी प्रकाशन गरिएको हो । तर, शिक्षकहरूले जिम्मेवारीबोध गरेर उत्तरपुस्तिका परीक्षण गरेकाले नतिजाको विश्वसनीयतामा प्रस्न गर्न नमिल्ने परीक्षा बोर्डका अधिकारीहरु बताउँछन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।