.png&w=1000&height=550)
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा-एसईईको हालै सार्वजनिक नतिजाले ३४ प्रतिशत विद्यार्थी फेल भएको तथ्यांकले विद्यार्थीहरूको सिकाइ उपलब्धि र शिक्षण विधिबारे नै बहस भइरहेको छ ।
गत मंसिरमा सार्वजजनिक सरकारकै एक अध्ययनले पनि गणित, विज्ञान र नेपाली विषयमा कक्षा १० का विद्यार्थीको सिकाइ कमजोर भएको देखाएको छ । अंग्रेजीमा भने सिकाइमा सुधार भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको रिपोर्टले देखाएको छ । कक्षाकोठामा पढेका कुरा सिक्न नसक्ने समस्या सामुदायिक विद्यालयमा बढी देखिएको छ ।
७६ जिल्लाका १८ सय विद्यालयमा अध्ययनरत कक्षा १० का ४४ हजार विद्यार्थीमा गरिएको अध्ययनमा गणित, विज्ञान र नेपालीमा सिकाइको स्तर कमजोर देखिएको छ । राष्ट्रिय औसत अंक गणितमा ५००, नेपालीमा ४९९, विज्ञानमा ५०५ र अंग्रेजीमा ५१५ मानेर प्रश्नावलीका आधारमा विद्यार्थीको सिकाइ उपलब्धि मापन गरिएको थियो ।
जसमध्ये गणितमा ६०, विज्ञानमा ५१ र नेपालीमा ५४ प्रतिशत विद्यार्थी कमजोर देखिएका छन् । अंग्रेजीमा भने कमजोर विद्यार्थीको प्रतिशत ३० मात्र छ । तीन वर्ष अगाडि पनि यस्तै परीक्षण गरिएको थियो। त्यस क्रममा कुल ४४ हजार विद्यार्थीमध्ये १८ प्रतिशतले मात्र पढेका कुरा सिकेको पाइएको थियो ।
त्यतिबेला अंग्रेजीमा ४५ प्रतिशत, विज्ञानमा ५५ र नेपालीमा ५२ प्रतिशत विद्यार्थी कमजोर भएको तथ्यांकले देखाएको छ । प्रदेशगत हिसाबले कर्णाली र सुदूरपश्चिमका विद्यार्थीको सिकाइ उपलब्धि सबैभन्दा कमजोर देखिएको छ भने बागमती, कोशी र गण्डकी प्रदेश तुलनात्मक रुपमा राम्रो देखिएको छ ।
सूचना प्रविधि र सिकाइसम्बन्धी सामग्रीमा पहुँच पाएका र विषयगत शिक्षक भएका विद्यार्थीको सिकाइको स्तर तुलनात्मक रुपमा सुधार भएको देखिएको छ । आर्थिक र पारिवारिकलगायत कारणले विद्यार्थीको सिकाइ स्तरमा प्रभाव परिरहेको प्रतिवेदनको निष्कर्ष छ ।
दक्षिण एसियामा कक्षा १० का विद्यार्थीको औसत उपलब्धि ५५ देखि ६० प्रतिशत छ । प्रतिवेदनले शिक्षित अभिभावकका बालबालिकाको सिकाइ उपलब्धि केही राम्रो देखाएको छ । अझ सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि झनै कमजोर पाइएको छ ।
विद्यालय तहको शिक्षा र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि शिक्षा नीतिदेखि पाठ्यक्रम, शिक्षण विधि, स्रोत साधन लगायतमा सुधारका लागि सुझावहरु दिएका छन् । सरकारले हरेक वर्ष ठूलो रकम खर्च गरेर विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्छ र सुधारका लागि विभिन्न सुझावहरु समेत दिन्छ ।
तर, विद्यार्थीले कक्षाकोठामा पढेका कुरा सिक्ने वातावरण बनाउने विषयमा भने प्रयास नै गरेको छैन जुन सामुदायिक शिक्षाका लागि ठूलो चुनौती बनेको छ ।