
बागलुङ । नेपालामै पहिलो पटक बागलुङको बडिगाडमा हरित ऊर्जा-हाइड्रोजन ग्यास उत्पादनमार्फत खाना पकाउने प्रविधिको सुरुवात गरिएको छ ।
बडिगाड गाउँपालिकामा २०६६ सालमा स्थापना भएको गिरिङ्दी खोला लघु जलविद्युत् सहकारी संस्थाबाट उत्पादित विद्युत्बाट खाना पाउने हाइड्रोजन ग्यास उत्पादन गरी प्रयोगमा ल्याइएको छ । बागलुङ सदरमुकामदेखि ५५ किलोमिटर दूरीमा रहेको बडिगाड गाउापालिका-२ स्थित गिरिङदी खोला लघु जलविद्युत्बाट हरित ऊर्जा-हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।
हाइड्रोजन ग्यास खाना पकाउन प्रयोगमा आएको छ । यो प्रविधि विकासको लागि अन्तरराष्ट्रियस्तरका लुसेरन युनिर्भसिटी स्वीजरल्यान्ड, एसएन्डएओ लिमिटेड यूके, इन्भेस्टइन ग्रीन यूके, जेट इन्जिनियरिङ यूके तथा नेपालस्थित नेपाल इनर्जी फाउन्डेसन, उर्जा र वातावरणको लागि महिला सञ्जालको साझेदारी रहेको छ ।
त्यसैगरी वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र काठमाडौं, बडिगाड गाउँपालिका र स्थानीय समुदाय अन्तर्गत गिरिङ्दी खोला लघु जलविद्युत् सहकारी संस्थाको सहकार्यमा हाइड्रोजन ग्यास उत्पादन गरिएको छ । तीन वर्ष अघिदेखि निमार्णको काम भइरहेको हाइड्रोजन ग्यास उत्पादको परीक्षण सफल भएपछि प्रयोगमा ल्याउन थालिएको हो ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरको साझेदारीमा उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट खाना पकाउन मिल्ने प्रविधि नवीनतम हो । लघु जलविद्युत्बाट उत्पादन भएको बिजुली बिहान बेलुका मात्र प्रयोग हुने र अन्य समयको ८० प्रतिशत विद्युत् खेर जाने हुँदा अहिले यसको सदुपयोग गरी खाना पकाउने हाइड्रोजन ग्यास निकालिएको छ।
विद्युत्को प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुटयाइने र उत्पादित हाइड्रोजन ग्यासलाई सिलिन्डरमा भर्ने गरिएको छ। पहिलो चरणमा ५० लिटरका १२ वटा सिलिन्डरमा ग्यास संकलन भइरहेको छ। उत्पादन गरिएको हाइड्रोजन ग्यास स्थानीयस्तरमा नै उत्पादन हुने, लघु जलविद्युत् केन्द्रबाट खेर गएको बिजुलीको सदुपयोग हुने र अन्य ग्यासभन्दा यसमा छिटो पाक्न सक्ने ताप हुने हुँदा उपयोगीसमेत बनेको छ ।
पहिलो चरणमा नमुना परियोजनाको रूपमा हाइड्रोजन ग्यासबाट खाना पाउने गरी गिरिङदी खोला लघु जलविद्युत् सहकारी संस्थामा कार्यरत कर्मचारी र त्यहाँ अवलोकनसहित बस्नको लागि आउने अन्य व्यक्तिको लागि व्यवस्था मिलाइएको छ। सरकारले यसको कार्यविधि, नीति र कानुन बनाएपछि पूर्णरूपमा समुदायसमक्ष पुर्याउने तयारी थालिएको छ।
चार केजी हाइड्रोजन ग्यासले चार जनाको परिवारलाई एक महिनासम्म खाना पकाउन सकिन्छ। विद्युत्बाट खाना पकाउने हाइड्रोजन ग्यास उत्पादन गर्नकै लागि लघु जलविद्युत् मर्मत र संरचना व्यवस्थापन लागि एक करोड खर्च गरिएको छ।