नगरपन्छी घोषणा गरियो, तर नीति बनेन : लुम्बिनी क्षेत्रमा असुरक्षित बन्दै सारस

जेष्ठ ५, २०८३ |मनोज पौडेल
नगरपन्छी घोषणा गरियो, तर नीति बनेन : लुम्बिनी क्षेत्रमा असुरक्षित बन्दै सारस

रूपन्देही । विश्वकै दुर्लभ पन्छी सारसको जीवन चक्र हेरेर आनन्दित हुने उत्कृष्ट गन्तव्य रूपन्देही र कपिलवस्तुमै सारसलाई बाँच्नै सकस हुँदै गएको छ। 

नेपालमा सबैभन्दा बढी सारस पाइने रूपन्देही र कपिलवस्तुमा बिजुलीका नाङ्गा तार र सामुदायिक कुकुरको जोखिम बढेकोसँगै सारसको जीवन नै जोखिममा परेको हो । वैशाख चौथो साता दुईवटा सारस बिजुलीको तारमा छोइएर मरे। एउटा लुम्बिनी विकास कोषको १२ नम्बर गेटबाट उड्दै बाहिरिने क्रममा बिजुलीको तारमा छोइएर शिवगढीया गाउँ नजिक खेतमा खसेर मर्‍यो । 

अर्को सारस कोषको कर्मचारी आवास नजिक करेन्ट लागेर मरेको थियो । गत माघ ११ र पुस ३ गते कपिलवस्तुको जगदीशपुर पन्छी आरक्षनजिकै ११ हजार भोल्टको तारमा ठोक्किएर दुईवटा सारस मरेका थिए। बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वसामु जोड्ने अर्को ब्रान्ड हो सारस । 

शान्ति र प्रेमको प्रतीक सारस उड्न सक्नेमध्ये सबैभन्दा अग्लो चरा हो । सारसको महत्वका कारण ८ वर्षअघि लुम्बिनी सांस्कृतिक नगरपालिकाले यसलाई नगरपन्छी घोषणा गर्यो । तर, अहिले नगरपालिकाले सारस संरक्षणको नीति, योजना र कार्यक्रम नबनाउँदा नगरमै सारस असुरक्षित बनेका छन् ।

सारस लुम्बिनीमा जुनसुकै मौसममा सजिलै देख्न सकिन्छ। सारस हेर्न देश विदेशबाट प्रशस्त पर्यटक आउँछन्। हल्का खैरो रंगको प्वाँख सपक्क समेटिएको र गुलाबी रङको खुट्टाले निक्कै चित्ताकर्षक देखिन्छ। तर, पछिल्ला दुई वर्षमा मात्रै लुम्बिनी आसपास ८ वटा सारस मरे।

एक दुईवटालाई वन्यजन्तुले मारे पनि अधिकांश बिजुलीको तारमा ठोक्किएर मरेका छन् । बृहत्तर लुम्बिनी क्षेत्रमा नेपालमै सबैभन्दा बढी सारस पाइन्छ। कपिलवस्तु, रूपन्देही तथा पश्चिम नवलपरासीको यो क्षेत्रलाई सारस 'हट स्पट' मानिन्छ। २०८० मा गरिएको अध्ययनमा देशभर ६९० सारस फेला परकोमा ८० प्रतिशतभन्दा बढी रूपन्देही र कपिलवस्तुमा पाइएका थिए।

सारस 'हट स्पट' मा सबै ठाउँ नाङ्गो बिजुलीका तार तानिएको छ। अग्लो भएकाले सारस धेरै उचाइमा उड्न नसक्ने हुनाले बिजुलीको तारमा ठोक्किन पुग्छन् । सारस बस्ने मानव बस्ती र खेतबारी आसपास हुँदै विद्युत् लाइन बिछ्याइएको हुन्छ । 

यसकारण सारसलाई करेन्ट लाग्ने वा तारमा ठोक्किने दर बढिरहेको छ । चरा धेरै आवतजावत गर्ने ठाउँमा नाङ्गो तार नराख्ने र बर्ड डाइभटर इन्डिकेटर राखेर चरा बचाउन सकिन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।