सप्तरीमा हत्या र शंकास्पद मृत्युका घटना बढ्दा पीडित परिवार न्यायबाट वञ्चित

जेष्ठ ५, २०८३ |आरएन विश्वास
सप्तरीमा हत्या र शंकास्पद मृत्युका घटना बढ्दा पीडित परिवार न्यायबाट वञ्चित

सप्तरी । पछिल्लो एक वर्षमा सप्तरीमा ६ जनाभन्दा धेरै व्यक्तिको हत्या र शंकास्पद मृत्यु भएको छ। 

तर, अधिकांश घटनामा प्रहरीले अनुसन्धान पूरा गर्न नसक्दा अपराधी कानुनी कारबाही बाहिरै छन्। सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-५ बनरझुलाकी १२ वर्षिया काजलकुमारी रायको एउटै प्रश्न छ आमाको हत्या गर्नेहरूमाथि कहिले सजाय हुन्छ ? 

उहाँकी ३६ वर्षीया आमा अनितादेवी गत वैशाख २३ गते राति घरबाटै अपहरणमा पर्नुभएको थियो । त्यसको सात दिनपछि वैशाख ३० गते सशस्त्र प्रहरीको बेस क्याम्पनजिकै कोशी नदीको सहायक भँगालोमा विभत्स अवस्थामा उहाँको शव भेटियो। 

घटना भएको रात काजल आफ्न्तको बिहेमा जानुभएको थियो भने उहाँका बुबा वीरेन्द्र वैदेशिक रोजगारीमा कतारमा हुनुहुन्थ्यो । घरमा एक्लै रहेकी अनितादेवीको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारको आरोप छ । तर, प्रहरी अझैसम्म घटनाबारे स्पष्ट हुनसकेको छैन।

मृतक परिवारले हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिरहेका छन्। केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिए पनि के-कस्तो कारबाही भइरहेको छ भन्नेबारे जानकारी नभएको मृतक परिवारको भनाइ छ।

गत भदौ २४ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका माइती भएकी महदेवा गाउँपालिका १ सोनराकी २१ वर्षीया दीपाकुमारी यादवको शंकास्पद मृत्यु भयो। दीपाको भर्खरै विवाह भएको थियो । माइती पक्षले दीपाको हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। 

तर, महिनौं बितिसक्दा पनि प्रहरीले दोषी पहिचान र कारबाहीमा ठोस उपलब्धी देखाउन नसकेको भन्दै मृतक परिवार न्यायबाट वञ्चित भएको गुनासो गरिरहेका छन्। अर्को घटनामा गत कार्त्तिक २ गते बोदेबर्साइन नगरपालिका ८, रज्जैपट्टीका ७३ वर्षीय रामदुलार साहको गोली हानी हत्या भयो। 

जग्गासम्बन्धी विवादमा हत्या भएको भनिएकोमा अहिलेसम्म आरोपीहरू पक्राउ नपर्दा पीडित परिवारले प्रहरीको कार्यशैलीमाथि पश्न उठाएका छन्। यी त प्रतिनिधि घटना मात्रै हुन्। गएको एक वर्षयता बलान बिहुल गाउँपालिका, सुरुंगा नगरपालिका, महदेवा गाउँपालिका, बोदेबर्साइन नगरपालिकालगायत क्षेत्रमा ६ जनाको यसरी हत्या तथा शंकास्पद मृत्युको घटना घटिसकेको छ । 

तर, अधिकांश घटनामा प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकेको छैन, घटनालगत्तै सक्रिय देखिने प्रहरी समय बित्दैजाँदा सुस्ताउने गरेको आरोप पीडित परिवारको छ। यसबाहेक दुई वर्षअघि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भएको दुई जनाको हत्या, कञ्चनरूप नगरपालिकाको बरमझियामा भएको एक जनाको हत्या र खडक नगरपालिकाको खरचुईयामा भएको सुबरी साह दम्पतीको हत्या प्रकरणसमेत अझै निष्कर्षविहीन छन् । 

पीडित परिवारहरू न्यायको प्रतीक्षामा छन् भने प्रहरी फाइलमा मात्रै अनुसन्धान सीमित हुँदा अपराधीहरू खुलेआम घुमिरहेका छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।