
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थी बर्सेनि बढ्दै गएपछि सरकारले विदेशका विश्वविद्यालय तथा शिक्षण संस्थाहरु नेपालमै खोल्न प्रोत्साहन गर्ने नीति लिएको छ।
तर, तथ्यांकले भने विदेश पढ्न जान वैदेशिक अध्ययन अनुमतिपत्र- एनओसी लिनेको संख्या झनै बढ्दै गइरहेको देखाएको छ । अघिल्लो वर्षको तुलनामा एनओसी लिनेको संख्या ५ हजारले बढेको हो । विद्यार्थीमार्फत गत आर्थिक वर्षमात्रै १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी विदेशिएको छ ।
भक्तपुरको सानोठिमीस्थित शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा आइतबार भेटिनुभयो काठमाडौंको म्हैपीकी रिदिमा आलेमगर । विज्ञान विषय लिएर १२ कक्षा पास गर्नुभएकी उहाँ बेलायतमा स्नातक तहको नर्सिङ विषय पढ्न जाने तयारीमा हुनुहुन्छ ।
पढाइसँगै राम्रो अर्थोपार्जन गर्न सकिने भएकाले बेलायत जाने तरखरमा रहेको उहाँको भनाइ छ । विद्यार्थीहरु विदेश पढ्न जाने क्रम बर्सेनि बढ्दै गएको छ । २०८० मा १ लाख २ हजारले वैदेशिक अध्ययन अनुमति-एनओसी लिएकोमा २०८१ मा १ लाख १६ हजार पुगेको थियो ।
यो संख्या बढेर २०८२ मा १ लाख २१ हजार पुगेको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले जेठमा मात्रै दिनहुँ ६ सयको हाराहारीमा विद्यार्थीलाई अनुमतिपत्र उपलव्ध गराएको जनाएको छ । पछिल्ला ३ वर्षमा ३ लाख ८५ हजार विद्यार्थीले एनओसी लिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
विदेशमा उच्चशिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई सरकारले १ सय १५ वटा देशका १२ हजार ६ सय ६६ वटा विश्वविद्यालय तथा शिक्षण संस्थाहरुका लागि अनुमति पत्र उपलव्ध गराउँदै आएको छ । २०८२ मा सबैभन्दा धेरै जापानमा भाषा शिक्षा अध्ययनका लागि ३९ हजार ३ सय विद्यार्थीले अनुमति पत्र लिएका छन् ।
यसैगरी अस्ट्रेलियामा २५ हजार ६ सय, यूकेमा २१ हजार ५ सय र कोरियामा ११ हजार विद्यार्थीले एनओसी लिएको मन्त्रालयले जनाएको छ । अझ एनओसी अनिवार्य नभएकाले भारत जाने विद्यार्थीको कुनै तथ्यांक नै छैन् । विदेशमा धेरैजसो व्यवस्थापन, भाषा, सूचना प्रविधि लगायतका विषय पढ्न जाने धेरै छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशको अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय तथा शिक्षण संस्थाहरु नेपालमा खोल्न प्रोत्साहन गर्नै नीति लिएको छ । शिक्षा क्षेत्रका जानकारहरु यसलाई सकारात्मक मान्छन् । यसमार्फत नेपाललाई उच्चशिक्षाको राम्रो गन्तव्यस्थलको रुपमा विकास गर्न सकिने उनीहरुको भनाइ छ ।
अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा विदेशमा उच्चशिक्षा अध्ययनका नाममा १ खर्व २० अर्व ५० करोड रुपैयाँ विदेशिएको थियो । नेपालको विश्वविद्यालय शिक्षालाई सीपसँग जोड्न सकेमात्र विदेशिने विद्यार्थीलाई कम गर्न सकिन्छ ।