राष्ट्रिय टोली मात्रै होइन, भावी खेलाडी उत्पादनमा पनि फिफा प्रतिबन्धको असर

श्रावण २६, २०८३ |अर्जुन सुवेदी
राष्ट्रिय टोली मात्रै होइन, भावी खेलाडी उत्पादनमा पनि फिफा प्रतिबन्धको असर

सुनसरी । विश्व फुटबल महासंघ- फिफाले अखिल नेपाल फुटबल संघ- एन्फालाई निलम्बन गरेसँगै यसको असर राष्ट्रिय टोली र नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामा मात्रै सीमित रहने देखिएको छैन । 

नेपाली फुटबलका भावी खेलाडी उत्पादन गर्ने एन्फाका प्राविधिक केन्द्र र एकेडेमीहरू पनि यसको प्रत्यक्ष प्रभाव पर्नेछ । पूर्वी नेपालमा फुटबल प्रतिभा उत्पादन गर्ने धरानस्थित एन्फा टेक्निकल सेन्टरमा अहिले यही अन्योल छ ।

धरानस्थित यो एन्फा टेक्निकल सेन्टर पूर्वी नेपालको फुटबल प्रतिभा उत्पादन गर्ने प्रमुख केन्द्र हो । सोमबार दिउँसो यहाँ आइपुग्दा मैदानमा पसिना बगाइरहेका यी किशोरहरू राष्ट्रिय टोलीको जर्सी लगाउने सपना पछ्याइरहेका थिए । तर, त्यो सपनाको बाटो अहिले केही धमिलो बनेको छ । 

फिफाले एन्फामाथि लगाएको निलम्बनसँगै नेपाली फुटबलमा बहुआयामिक असर पर्ने संकेत देखिएको छ । फिफाको विकास कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका यस्ता प्राविधिक केन्द्रहरूमा आर्थिक, प्राविधिक र दीर्घकालीन योजनाको असर पर्ने चिन्ता बढेको छ ।

धरानको यो एकेडेमीमा कोशी, मधेश तथा पूर्वी पहाडी जिल्लाबाट छनोट भएका ३० जना खेलाडी आवासीयरूपमा बस्दै नियमित प्रशिक्षण लिन्छन् । यहीँबाट उत्पादन भएका धेरै खेलाडी राष्ट्रिय टोलीसम्म पुगिसकेका छन् । फिफाको ’गोल परियोजना’अन्तर्गत स्थापना भएको यो केन्द्र नेपाली फुटबलको प्रतिभा उत्पादन गर्ने महत्वपूर्ण आधार मानिन्छ । 

एन्फा निलम्बनमा परे पनि तत्काल प्रशिक्षण बन्द हुने अवस्था भने छैन । तर, प्रतिबन्ध लम्बिए नयाँ खेलाडी छनोट, अन्तर्राष्ट्रिय एक्सपोजर, प्रशिक्षक तालिम र विकास कार्यक्रम प्रभावित हुने चिन्ता भने बढ्दै गएको छ ।

नेपाली फुटबलको भविष्य राष्ट्रिय टोलीले मात्रै निर्धारण गर्दैन, यस्ता एकेडेमीबाट उत्पादन हुने नयाँ पुस्ताले भविष्यको मार्गचित्र तय गर्छ । तर, अहिले फिफा प्रतिबन्धको प्रत्यक्ष असर किशोर खेलाडीको मनोविज्ञानमा पर्न थालेको छ । प्रतिबन्ध लम्बिँदै गए आफूहरुको राष्ट्रिय खेलाडी बन्ने सपना पूरा नहुने चिन्ता उनीहरुमा छ ।

समस्या छिट्टै समाधान हुन नसके धरानजस्ता प्राविधिक केन्द्रबाट राष्ट्रिय टोलीसम्म पुग्ने प्रतिभाको श्रृंखला नै कमजोर बन्नसक्ने चिन्ता बढेको छ । त्यसैले अहिले नेपाली फुटबलको सबैभन्दा ठूलो चुनौती अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुपस्थिति मात्र होइन, भावी पुस्ताको फुटबल विकासलाई जोगाउनु पनि बनेको छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।