माहुरीपालनबाटै गाउँमा रोजगारी र आम्दानी बढाउँदै शुक्र राई

श्रावण २६, २०८३ |विनोद घिमिरे
माहुरीपालनबाटै गाउँमा रोजगारी र आम्दानी बढाउँदै शुक्र राई

धनकुटा । धनकुटाको पाख्रिबास ९ स्थित मजुवा गाउँ अझै पनि विकासका न्यूनतम आधारभूत सुविधाको पहुँचभन्दा टाढा छ । 

सम्भावनाको खोजीमा धेरैले गाउँ छोडेर हिँडिरहेका बेला स्थानीय शुक्र राई भने बहुआयामिक कृषि कर्मबाट व्यावसायिक बन्नुभएको छ । माहुरी, माछा र बाख्रापालनमा लागेका राईको सफलताले अन्य किसानलाई समेत प्रेरणा मिलेको छ ।

वैदेशिक रोजगारीमा ८ वर्ष मलेसियामा बिताएर गाउँ फर्किएपछि पाख्रिबास, मजुवाका शुक्र राईले परम्परागतरूपमा गर्दै आएको माहुरीपालनलाई व्यावसायिक बनाउने निर्णय लिनुभयो । त्यतिबेला उहाँसँग परम्परागतरूपमा पालिएका केही घार माहुरी थिए । 

अहिले राईसँग दुई सयभन्दा बढी आधुनिक घारमा माहुरी छन् । यी घारबाट वर्षमा करिब पाँच क्विन्टलसम्म मह उत्पादन हुन्छ । महबाट राम्रो आम्दानी भए पनि उहाँको आम्दानीको मुख्य पाटो गोला र घार बिक्री हो । पाँच फ्रेमसहितको एउटा घार १० देखि १३ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । 

धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, खोटाङ र उदयपुरका स्थानीय तह, कृषक समूह र किसान माहुरी र घारका ग्राहक हुन् । घार बनाउने काममा सातजनाले रोजगारी पाएका छन् । शुक्र राईले माहुरीसँगै बाख्रा, माछापालन र केरा खेती विस्तार गर्नुभएको छ । 

अहिले उहाँको फार्ममा ६५ देखि ७० वटा खसीबाख्रा छन् । ४० रोपनीमा फैलिएको केराखेतीबाट आम्दानी हुन थालेको छ । पोखरीमा करिब ग्रासकार्प जातका ७ हजार माछा हुर्किरहेका छन् । माछापोखरी थप्ने उहाँको योजना छ ।

मजुवा गाउँमा अन्य किसानले पनि माहुरीपालनमा भविष्य देख्न थालेका छन् । दुर्गा दर्लामीले एपिस सेरेम्नाजातका १ सय १० घार माहुरी पाल्नुभएको छ । घार, मह र माहुरी गोला मात्र होइन, पोलन, कुट र बी–भेनमजस्ता सहउत्पादन अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो सम्भावना रहेकाले त्यसतर्फ किसानलाई तालिम, प्रविधि र सरकारी सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा वार्षिक करिब २९ मेट्रिक टन मह उत्पादन हुन्छ । यहाँ माहुरीका करिब ४ हजार ४ सय आधुनिक र सात हजार ५ सय परम्परागत घार छन् । मह र माहुरीका गोला बिक्रीबाट वार्षिक करिब ४ करोड रुपैयाँको कारोबार हुने गरेको केन्द्रले जनाएको छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।