सन्दीपसामु कठिन चुनौती, ओडीआई जोगाउनुपर्ने दबाब

श्रावण २६, २०८३ |सुवास रोकाया
सन्दीपसामु कठिन चुनौती, ओडीआई जोगाउनुपर्ने दबाब

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा नामिबिया र घरेलु टोलीविरुद्ध लगातार चार हार बेहोरेपछि नेपालको शीर्ष चारको दौड लगभग समाप्त भएको छ । 

लिग टुका का पछिल्ला २ अवे सिरिजमा क्लिनस्विप हार बेहोरेको नेपालका लागि अब शीर्ष ६ मा रहँदै सिधै ओडीआई जोगाउन पनि कठिन समीकरण हल गर्नु पर्ने छ । यस्तो अवस्थामा नेपाल क्रिकेट संघ- क्यानले नेपालको ओडीआई टिममा व्यापक परिवर्तन गरेको छ । 

क्यानले रोहित पौडेललाई ओडीआई टिमको कप्तानीबाट अलग गर्दै सन्दीप लामिछानेलाई पुनः नेतृत्वको जिम्मेवारी दिएको छ । टिममा पनि व्यापक परिवर्तन गरिएको अवस्थामा कप्तानको रुपमा सन्दीपसामु ओडीआई जोगाउनु पर्ने कठिन चुनौती छ ।

लेग स्पिनर सन्दीप लामिछानेले पहिलोपटक सन् २०२२ मा सिनियर टोलीको कप्तानी सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले १४ ओडीआई खेलेकोमा ४ जित र ९ हारको सामना गरेको थियो । एक खेल ‘टाई’ भएको थियो । त्यसपछि रोहित पौडेलले नेतृत्व सम्हाले र नेपाली क्रिकेटले एउटा सफल अध्याय पनि देख्यो । 

रोहितकै कप्तानीमा नेपालले अघिल्लो विश्वकप लिग–टु चक्रमा एकदिवसीय मान्यता जोगायो र विश्वकप छनोटसम्मको यात्रा तय गर्‍यो । दुईवटा टी- २० विश्वकप खेल्यो र पहिलो पटक एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला टोलीविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

विश्वकप लिग–२ मा नेपालले ३२ खेलबाट ११ जितसहित २४ अंक जोड्दै आठ टोलीमध्ये सातौं स्थानमा छ । नेदरल्यान्ड्स भ्रमणमा नामिबिया र घरेलु टोलीविरुद्ध लगातार चार हार बेहोरेपछि शीर्ष चारको दौड लगभग समाप्त भएको छ । पछिल्ला २ अवे लिग २ सिरिजमा क्लिनस्विप हार बेहोरेको नेपालसामु अब एकदिवसीय मान्यता कसरी जोगाउने भन्ने गम्भीर प्रस्न छ । 

जुन सन्दीपले सामना गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती हो । उनी आफैं पनि पछिल्लो नेदरल्यान्ड्स भ्रमणमा प्रभाव जमाउन असफल रहे । उनी पहिलोपटक लिग टुमा लगातार ३ खेलमा विकेटविहीन बनेका थिए । सोही कारण सन्दीप चौथो खेलमा टोलीबाहिरै रहेका थिए । 

यस्तो अवस्थामा उनले कप्तानका रूपमा आफूलाई मात्र होइन, सम्पूर्ण टोलीलाई लयमा फर्काउनु पर्ने छ । नेपालले अब लिग टु मा खेल्ने प्रत्येक खेलको महत्व निकै बढेको छ । अक्टोबरमा ओमान र क्यानडाविरुद्ध हुने चार खेलले नेपालको लिग–टु यात्राको अन्तिम दिशा तय गर्नेछ । 

ती चार खेलले नेपालको आगामी चार वर्षको एकदिवसीय भविष्यसमेत निर्धारण गर्नेछन् । नेदरल्यान्ड्स भ्रमणले नेपालको पुरानो कमजोरी फेरि सतहमा ल्याएको थियो । स्विङ, सीम र अतिरिक्त उछाल भएको पिचमा नेपाली ब्याटरहरू असहज देखिएका थिए । फिल्डिङमा महत्वपूर्ण क्याच छुटेका थिए ।

कप्तानका रूपमा सन्दीपले अब यी समस्याको सामाधान खोज्नु पर्ने छ । कप्तान परिवर्तनसँगै एकदिवसीय टोलीमा पनि व्यापक फेरबदल भएको छ । नेदरल्यान्ड्स भ्रमण गरेको टोलीबाट कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी र नन्दन यादव बाहिरिएका छन् । 

देव खनाल, सन्दीप जोरा, बसिर अहमद र शेर मल्लले एसीसी प्रिमियर कप खेल्ने टिममा पुनरागमन गरेका छन् । यस्तो अवस्थामा सन्दीपले रणनीतिसँगै टिम भित्र विश्वास निर्माण गर्नुपर्नेछ । लिग–२ मा नेपालसँग कुनै प्रयोग गर्न अब धेरै खेल बाँकी छैनन् । तर, बाँकी खेलको महत्व असाधारण छ । 

लिग–२ मा सातौं र आठौं स्थानमा पुग्दा नेपालको एकदिवसीय मान्यता जोखिममा पर्न सक्छ । यस्तो अवस्थामा नेपालले प्लेअफको कठिन बाटो समात्नुपर्नेछ । त्यसैले शीर्ष छ भित्रै रहेर मान्यता सुरक्षित गर्नु नेपालका लागि सबैभन्दा सुरक्षित बाटो हो ।

एकदिवसीय मान्यता जोगाउनुका साथै एसीसी प्रिमियर कपमार्फत नेपाललाई दोस्रो पटक एकदिवसीय एसिया कपमा पुर्याउनु उनको दोस्रो जिम्मेवारी हुने छ । यसका लागि नेपाली ब्याटरको मानसिकता बदल्नुपर्छ । डट बलको दबाब सहन सक्ने, स्ट्राइक रोटेट गर्ने र खराब बललाई सजाय दिने क्षमता बढाउनुपर्छ । 

विदेशी परिस्थितिमा सट बल, स्विङ र सिमविरुद्ध विशेष अभ्यास आवश्यक पर्ने छ । फिल्डिङमा सुधार पनि आवश्यक छ । खेलाडीका रुपमा सन्दीप निसन्देह उत्कृष्ट लेग स्पिनरहरु मध्येमा पर्छन् । त्यसैले यदि लिग टुका बाँकी खेलमा नेपाललाई पुनः लयमा फर्काउन सके सन्दीपको दोस्रो पटकको कप्तानी नेपाली क्रिकेटका लागि नयाँ अध्याय बन्न सक्छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।