काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट थप अध्ययनका बिदा लिएका शिक्षकहरू समयमै उपाधि पूरा नगरी विदेश पलायन हुने क्रम बढेपछि कडाइका साथ कारबाही गरिने भएको छ ।
विश्वविद्यालयबाट एमफील वा विद्यावारिधी अध्ययन बिदा दुरूपयोग गर्नेहरुलाई काममा फर्कन वा खाइपाइ आएको तलब सुविधा बुझाउन आग्रह गरे पनि अटेर गरेपछि उनीहरु कार्यरत शिक्षण संस्था र कार्यालयमै परिपत्र गरी कडाइका साथ कारबाही गर्ने विश्विवध्यालयको तयारी छ ।
त्रिविका अनुसार ५ सय ९७ जनाले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई शैक्षिक हानी पुर्याएका छन् । अध्ययन बिदा दुरुपयोग गर्ने १२ जना शिक्षकबाट विश्वविद्यालयले ६ करोड रुपैयाँ असुलेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको केन्द्रीय विभागमा सहप्राध्यापक रहेका जगत तिमिल्सिनाले २०७७ सालमा विद्यावारिधी अध्ययन लागि बिदा लिनुभयो।
थाइल्याण्डको प्रिन्ससान खोला विश्वविद्यालयमा ग्रीन मार्केटिङ विषयमा विद्यावारिधीका लागि त्रिविबाट ३ वर्ष अध्ययन बिदा लिएका तिमिल्सिनाले समयमै उपाधि पूरा गर्न नसेकपछि २०८० सालमा फेरि विश्वविद्यालयमा नियमित अध्यापनका लागि फर्कनु भयो ।
नेपाली कांग्रेस कोटामा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि तिमिल्सिनाले कबुलनामा अनुसार विद्यावारिधी गर्न नसकेपछि खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित ३३ लाख ५० हजार रुपैयाँ फिर्ता दिनुभयो । तिमिल्सिना जस्तै हालै सम्पन प्रतिनिधिसभामा निर्वाचित आनन्दबहादुर चन्दले पनि खाइपाई आएको तलबभत्ता १० प्रतिशत ब्याजसहितको रकम विश्वविद्यालयलाई फिर्ता गर्नुभएको छ ।
विश्वविद्यालयका अनुसार २०७१ देखि २०८१ सालसम्म ५ सय ८९ शिक्षकले अध्ययन बिदाको दुरुपयोग गरी विदेश पलायन भएकोदखि उपाधि पूरा नगरी सम्पर्कमै नआएको जनाएको छ । त्यसमध्ये अध्ययन बिदाको दुरुपयोग गर्ने ४६ जना सम्पर्कमा आए पनि १२ जनाले ३३ लाखदेखि ५२ लाख रुपैयाँ गरी ६ करोड रुपैयाँसम्म बुझाइसकेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्ने शिक्षकबाट १ अर्ब २० करोडभन्दा बढी रुपैयाँ असुलउपर गर्ने लक्ष्य भए पनि अध्ययन बिदा १० वर्षभन्दा बढी भएका शिक्षकको हकमा साँवाभन्दा ब्याज दोब्बरभन्दा बढी हुने भएकाले आशा गरे अनुसार असुली नभएको र नीतिगत निर्णय गरेर असुली गर्ने योजनामा छ । र, विश्वविद्यालयलाई प्राज्ञिक र शैक्षिक उन्नयमासमेत गम्भीर असर परेपछि त्रिविले अब अध्ययन बिदा दुरुपयोग गर्नेहरुको पहिचना गरी उनीहरु काम गर्ने शैक्षिक संस्था वा कार्यलयमै परिपत्र गरी कारबाही गर्ने त्रिविको तयारी छ ।
अध्ययन बिदा लिएर नफर्किएपछि विश्वविद्यालयको केन्द्रीय क्याम्पस विभाग र ६२ वटा आंगिक क्याम्पस समस्यामा परेका छन् । अध्ययन बिदाको दुरुपयोग गर्नेलाई कारवाहीको दायरामा ल्याइ उनीहरुको ठाउँमा योग्य शिक्षक व्यवस्था गरी शिक्षण सिकाई र गुणस्तर वृद्धिमा जोड दिन आवश्यक छ । र, विश्वविद्यालयका शिक्षकले नीति नियम पालना गरेर अनुशासित र नैतिकवान हुन जरुरी छ ।