काठमाडौं उपत्यकाका घनाबस्तीभित्रका विद्यालयमा न्यूनतम पूर्वाधारको संकट

वैशाख ८, २०८३ |सुन्दर शिल्पकार|नारायण किलम्बू
काठमाडौं उपत्यकाका घनाबस्तीभित्रका विद्यालयमा न्यूनतम पूर्वाधारको संकट

काठमाडौं । विद्यार्थी उभिन पुग्ने कम्पाउन्ड, पर्याप्त कक्षाकोठा, छात्राका लागि अलग्गै शौचालय, प्रकाश र हावा आवतजावत गर्ने वातावरण । एउटा विद्यालयको पूर्वाधारमा हुनुपर्ने सामान्य मापदन्ड हुन् यी । तर, काठमाडौं उपत्यकाका घनाबस्ती र साँघुरा गल्लीमा रहेका विद्यालयभित्र पसेर हेर्ने हो भने विद्यालयजस्ता लाग्दैनन् । 

न त बालबालिका खेल्ने प्रांगण, न पर्याप्त कक्षाकोठा । जसले गर्दा विद्यार्थीको आकर्षण घटेको मात्र छैन, अँध्यारो कक्षाकोठाको पढाइले शिक्षण सिकाइमै प्रभाव पर्दै आएको छ । न्यूनतम मापदन्डमात्र बनाएर बसेको सरकारले उपत्यकाकै विद्यालय कसरी चलिरहेका छन्, वास्ता गरेको छैन ।

तपाईं काठमाडौंको वसन्तपुर जुद्ध शालिकबाट दक्षिणतिर लाग्नुभयो भने करिब २ सय मिटर अगाडि बढेपछि दाहिनेतिर एउटा सानो गल्ली देखिन्छ । अगाडि बढ्दै जाँदा गल्ली साँघुरिँदै जान्छ र दायाँ बायाँ अग्ला घर । अलि अगाडि देखिने गेटमा टाँगिएको बोर्डले मात्र थाहा हुन्छ-यहाँ विद्यालय रहेछ भनेर ।

यो हो झोंछेस्थित बालसेवा मावि । तर, यो भवन विद्यालयको आफ्नै होइन, मानन्धर सनागु खलको जग्गामा रहेको यो विद्यालयमा २ सय ५० भन्दा बढी विद्यार्थी छन् । दायाँबायाँका अग्ला घरहरुले गर्दा कक्षाकोठामा न त हावा छिर्छ, न उज्यालो । जसले गर्दा दिउँसै बत्ती बालेर पढाउनुपर्ने बाध्यता छ ।

आउनुस् अब ज्याबहालतिर लागौं । वसन्तपुरबाट टेकुतिर जाने करिब एक सय मिटर अगाडि गएपछि बायाँतिर एउटा गल्ली देखिन्छ, यो ज्याबहाल गल्लीबाट अझै अगाडि बढेपछि दायाँतिर देखिन्छ-नवयुग मावि । ७० वर्षअघि खोलिएको यो विद्यालय आफ्नै भवन त छ, तर नाममात्रको । 

चार आनाको साँघुरो क्षेत्रफलमा बनाइएको विद्यालयका चार वटा तलामा गरी ११ वटा कक्षाकोठा छन् । विद्यालयमा शिक्षकलाई समेत बस्ने ठाउँ छैन । कक्षा नचलेको अवस्थामा यसरी खचाखच बस्नुपर्ने अवस्था छ । प्रधानाध्यापक कक्षमै प्रशासन र लेखाशाखा छ । छात्राका लागि अलगै शौचालयसमेत छैन ।

काठमाडौं उपत्यकामा घनाबस्तीभित्र यस्ता विद्यालयको संख्या ८० भन्दा बढी छ, जहाँ विद्यालयका लागि चाहिने न्यूनतम पूर्वाधारसमेत छैनन् । २००७ सालपछि जनतालाई शिक्षा दिन विद्यालय खोलिए । तर, सहरका घर अग्लिँदै जाँदा यी विद्यालय होचा हुँदै गए । न बालबालिका खेल्ने ठाउँ रह्यो, न खुला मैदान । 

कतिपयमा कक्षाकोठा पनि पर्याप्त नहुँदा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको शिक्षकहरु बताउँछन् । शिक्षा नियमावलीले विद्यालयमा हुनुपर्ने मापदन्ड तोकेको छ । जसअनुसार सम्पूर्ण विद्यार्थी एकसाथ उभिन सक्ने कम्पाउन्ड हुनुपर्ने, पुस्तकालय, विज्ञान र गणित प्रयोगशाला, कक्षाकोठामा हावा, प्रकाशको व्यवस्था, छात्रछात्राका लागि अलग्गै सौचालय तथा खानेपानीको उचित प्रबन्ध हुनुपर्छ । तर, यी विद्यालयका लागि यस्ता मापदन्डको कुनै अर्थ छैन । 

शिक्षा मन्त्रालयका अनुसार देशभरका २७ हजार १० सामुदायिक विद्यालयमध्ये २१ हजार अर्थात् ६८ प्रतिशतमा पर्याप्त कम्पाउन्ड, १५ हजार ७ सय ७४ अर्थात् ६० प्रतिशतमा खानेपानीको सुविधा, १८ हजारमा छात्राका लागि अलग्गै सौचालय, ७४ प्रतिशतमा बिजुलीको सुविधा र ६८ प्रतिशतमा कम्प्युटर सुविधा छन् । तर, मापदन्डको कुरा गर्ने सरकार त्यसअनुसारको सुविधा विद्यालयमा छ-छैन वास्ता गर्दैन ।

त्यसै पनि सरकारी विद्यालयमा विद्यार्थी आकर्षण कम छ । त्यसमाथि न्यूनतम पूर्वाधारसमेत नहुँदा बीचमै विद्यालय छाड्नेको संख्या धेरै छ । त्यसैले यस्ता विद्यालयहरुको पूर्वाधार सुधारसँगै शिक्षण सिकाइ सुधारमा सरकारले ध्यान दिन आवश्यक छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।

Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।