सिन्धुपाल्चोकका महिलाहरूको आयआर्जनको माध्यम बन्यो दुना-टपरी

जेष्ठ १९, २०८३ |कमला पाख्रिन
सिन्धुपाल्चोकका महिलाहरूको आयआर्जनको माध्यम बन्यो दुना-टपरी

सिन्धुपाल्चोक । दुना-टपरी निर्माण सिन्धुपाल्चोकका महिलाहरूको आयआर्जनको माध्यम बनेको छ। 

जंगलमा यत्तिकै खेर जाने सालका पातको सदुपयोग गरी बनाइएको दुना-टपरीले महिलाहरूलाई रोजगारी, आम्दानी र वन संरक्षणलाई एकैसाथ जोडेको छ। सालका पातबाट ठूलो मात्रामा दुना-टपरी उत्पादन गर्न थालेपछि महिलाहरूको आयआर्जन मात्रै बढेको छैन वनमा थुप्रिने सुक्खा पातको व्यवस्थापन भएर जंगल पनि डढेलोको जोखिमबाट जोगिएको छ ।

सिन्धुपाल्चोक सुकुटेककी ६३ वर्षीया दिलकुमारी थापाको लागि दुना-टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ। वनबाट सालको पात ल्याउनु र फुर्सदमा हातैले दुना-टपरी गाँस्नु उहाँको दैनिकी हो। आफ्नो आँखाको उपचार र घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेकोमा उहाँ सन्तुष्ट हुनुहुन्छ । 

केटाकेटी हुँदै आफ्ना आमा-हजुरआमाहरूबाट सिकेको सीप जीवनको यो चरणमा आइपुग्दा उहाँको आम्दानीको स्रोत बनेको छ । सुकुटेकी ७० वर्षीया सुन्तली खड्काका लागि पनि दुना-टपरी गाँस्ने काम वृद्धावस्थाको आम्दानीको भरपर्दो स्रोत हो । 

खामारे जंगलबाट सालका पात बटुली फुर्सदमा दुना-टपरी बनाउने सुन्तली प्रत्येक टपरीबाट ५ रुपैयाँ आम्दानी गर्नुहुन्छ । सुकुटेस्थित सामुदायिक दुना-टपरी साझा केन्द्रमा बिक्री हुने दुना-टपरीबाट प्राप्त रकमले उहाँको दैनिक खर्च र पोषिलो आहार व्यवस्थापनमा सहयोग पुगेको छ ।

पहिले घरायसी तथा धार्मिक कार्यका लागि एकअर्काको घरमा अर्मपर्म गरेर दुना-टपरी गाँसिन्थ्यो । तर, अहिले यहाँका महिलाहरूले यो सीपलाई आधुनिक मेसिनसँग जोडेर व्यावसायिक उत्पादनमा लागेका छन् । सालको पातलाई बाँसको सिन्काले जोडेर लाफा तयार गरिन्छ । 

त्यसपछि मेसिनको प्रयोग गरी विभिन्न आकारका दुना-टपरी बनाइन्छ। बजार मागअनुसार ठूलो, मझौला र सानो आकारका दुना-टपरी उत्पादन हुँदैआएका छन्। दुना-टपरी निर्माणमा संलग्न महिलाहरूले घरायसी कामसँगै पाएको आंशिक रोजगारीले आम्दानी गर्न पाएका छन्। 

यस अर्को सकारात्मक पक्ष भनेको वनमा हुने डढेलो न्यूनीकरण पनि हो। दुना-टपरी उत्पादनले ग्रामीण महिलालाई आर्थिकरूपमा सबल बनाउँदै वन क्षेत्रको डढेलो नियन्त्रणमा समेत योगदान दिएको छ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।