
काठमाडौं । फिफा विश्वकप २०२६ को महाकुम्भ सुरु हुन लाग्दा, विश्व फुटबलको ध्यान 'लायन्स अफ तेरंगा' भनिने सेनेगलको टोलीमा केन्द्रित छ ।
सन् २००२ मा आफ्नो पहिलो सहभागितामै तत्कालीन विश्व विजेता फ्रान्सलाई हराएर इतिहास रचेको सेनेगल, यसपटक थप बलियो भएर मैदान उत्रिँदै छ। साडियो मानेको नेतृत्वमा रहेको यो टोलीको यात्रा, इतिहास र २०२६ को सम्भावनाबारे आजको विश्वकप विशेषमा चर्चा ।
सन् २००२ मे ३१ को त्यो ऐतिहासिक साँझ, जसले अफ्रिकी फुटबलको परिभाषा नै बदल्यो । कोरियाको सियोलमा भएको विश्वकपको उद्घाटन खेलमा डेब्युटान्ट सेनेगलले पापा बुबा डियोपको गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले स्तब्ध पारेको थियो।
यो जित सेनेगलको फुटबल इतिहासकै सबैभन्दा स्मरणीय क्षण मात्र होइन, विश्व फुटबलकै ठूला अपसेटहरू मध्ये एक मानिन्छ। सेनेगलको विश्वकप इतिहास गौरवशाली छ । सन् २००२ मा आफ्नो पहिलो सहभागितामै क्वार्टरफाइनलसम्म पुगेर सेनेगलले विश्वलाई अचम्ममा पारेको थियो, जुन अहिलेसम्मकै उनीहरूको उत्कृष्ट प्रदर्शन हो ।
त्यसपछिका केही संस्करण गुमाए पनि सन् २०१८ मा रुस विश्वकपमा सेनेगलले पुनरागमन गर्यो, तर 'फेयर प्ले' नियमका कारण दुर्भाग्यपूर्ण रूपमा समूह चरणबाटै बाहिरिनु परेको थियो। यस पटक सेनेगल लगातार तेस्रो र समग्रमा चौथो पटक विश्वकप खेल्न तयार छ।
२०२६ को विश्वकप यात्रा सेनेगलका लागि निकै सफल रह्यो। अफ्रिकी छनोटको समूह 'बी' मा रहेको सेनेगलले १० खेलमा ७ जित र ३ बराबरी खेल्दै अपराजित रहेर २४ अंकका साथ समूहको शीर्ष स्थान कब्जा गर्यो। छनोटको निर्णायक खेलमा माउरिटानियालाई ४–० ले पराजित गर्दै सेनेगलले उत्तरअमेरिकाको टिकट पक्का गरेको हो।
सो खेलमा साडियो मानेले दुई गोल गर्दै आफ्नो टिमलाई डोहोर्याएका थिए। पछिल्लो पटक सन् २०२२ को कतार विश्वकपमा, आफ्ना मुख्य स्टार साडियो माने घाइते भएर टोली बाहिर रहे पनि, सेनेगलले कतार र इक्वेडरलाई हराउँदै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो।
यद्यपि, प्रिमियर लिगका स्टारहरूले भरिएको इङ्गल्यान्डसँग ३–० ले पराजित हुँदै उनीहरूको यात्रा टुङ्गिएको थियो। तर, त्यस प्रदर्शनले सेनेगलको बढ्दो शक्तिको संकेत दिएको थियो । यसपटक टोलीको मुख्य आकर्षण ३४ वर्षीय फरवार्ड साडियो माने हुन्, जो अघिल्लो विश्वकप गुमाएपछि यसपटक झनै दृढ संकल्पका साथ मैदान उत्रिँदै छन्।
उनलाई डिफेन्डर कालिदु कुलिबाली, गोलकिपर एडुअर्ड मेन्डी र युवा फरवार्ड निकोलस ज्याक्सनले साथ दिनेछन्। प्रशिक्षक पापे थियाव, जो आफैं २००२ को क्वार्टरफाइनल पुग्ने टोलीका सदस्य थिए, अहिले यो टोलीको कमान्ड सम्हालिरहेका छन्। उनी भन्छन्, "अफ्रिकामा अब कुनै पनि टोली सानो छैन, र हामी २००२ को भन्दा माथि जाने लक्ष्यमा छौं।"
२०२६ को विश्वकपमा सेनेगल समूह 'आई' मा रहेको छ। सेनेगलले जुन १६ मा न्युयोर्क न्यूजर्सी स्टेडियममा फेरि एकपटक ऐतिहासिक प्रतिद्वन्द्वी फ्रान्स विरुद्ध खेल्दै आफ्नो विश्वकप क्याम्पेनको सुरुवात गर्नेछ। त्यसपछि जुन २२ मा नर्वे र जुन २६ मा टोरोन्टोमा इराकको सामना गर्ने तालिका छ।